नयाँ स्वरुपमा फैलिँदै कोरोना
पुष ८
चीन र भारतमा कोभिड १९ को ओमिक्रोनको नयाँ भेरियन्ट बीएफ ७ ले संक्रमण बढाइरहेको पुष्टि भएको छ ।
भारतमा बुधबार मात्रै बीएफ ७ का १२९ वटा नयाँ केस भेटिएका थिए । भारतका गुजरात र ओडिसामा सो भेरियन्ट फैलिँदै गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ओमिक्रोनको सबभेरियन्ट बीएफ ७ को नेपालमा समेत जोखिम रहेको अवस्थाछ ।
चीनमा डिसेम्बरयताको संक्रमणको अवस्थालाई हेर्दा आगामी सातासम्म २५ मिलियन अर्थात दुई करोड ५० लाख नागरिक संक्रमित हुने देखिएको रोयटर्सले जनाएको छ ।
ओमिक्रोनपछिका भेरियन्टहरुले अहिले जापान, अमेरिका, ब्राजिललगायतका मुलुकहरुमा संक्रमण बढाउँदै लगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुकहरुमा कोभिड १९ का नयाँ भेरियन्टहरु भेटिएको भन्दै प्रवेश नाकाहरुमा सतर्कता अपनाउन निर्देशन दिएको छ । सबै प्रवेश बिन्दुहरुमा हेल्थ डेस्कहरुले आवश्यक स्क्रिनिङ, निगरानी, सतर्कता एवं आवश्यक तयारी अवस्थामा रहन पनि मन्त्रालयले सूचित गरेको छ ।
“कोभिड १९ को संक्रमणको जोखिम फरक स्वरुपमा देखिइरहेको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिन्छ,” मन्त्रालयले विज्ञप्तिमार्फत छ । तर, नेपालमा भने हालसम्म ओमिक्रोनको सब भेरियन्ट बीएफ ७ पुष्टि नभएको जनाएको छ । मन्त्रालयले पछिल्लो समय छिमेकी देशहरुमा भेटिएको सो भेरियन्ट हालसम्म नदेखिएको जनाएको हो ।