माधव ज्ञवाली गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा औद्योगिक ग्राम स्थापना गर्ने प्रस्तावलाई मन्त्रीपरिषदले स्वीकृत गर्ने निर्णय गरेको छ। रुरुक्षेत्र गाउँपालिकाले पेश गरेको औद्योगिक ग्राम स्विकृत भएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिएका छन् ।
औद्योगिक ग्राम स्विकृत भएकाले गाउँपालिकाले डिपिआर बनाएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पूर्वाधार बनाउन आवश्यक बजेट उपलब्ध गराउने अध्यक्ष ज्ञवालीले बताए ।
‘औद्योगिक ग्राम संचालन भएपछि स्थानीय स्रोत साधन, कच्चापदार्थको सदूपयोग हुन्छ’ उनले भने। औद्योगिक ग्राम स्थापना भएपछि स्थानीय प्रविधि र सीपको प्रयोग गरी स्थानीयस्तरमै रोजगारी बढ्ने उनको अपेक्षा छ।
औद्योगिक ग्रामका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउनुपर्ने प्रावधान छ। सोही प्रावधान अनुसार गाउँपालिकाको वडा न. ४ मा आवश्यक जग्गा उपलव्ध गराइएको अध्यक्ष ज्ञवालीले बताएका छन् ।
औद्योगिक ग्राममा भवन, खानेपानी, ढल निकास , बिजुली, घेराबार लगायतका भौतिक पुर्वाधार बन्नेछन् ।