गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका ९ अर्लाङ्कोटमा रहेको ज्ञानज्योति आधारभूत विद्यालयले लगाएको ज्ञान महायज्ञमा एउटै परिवारले ३० लाख २६ रुपैयाँ सहयोग गरेको छ । अर्लाङ्कोटका बलीभद्र सापकोटाको परिवारले विद्यालयलाई ३० लाख रुपैयाँ सहयोग गरेको हो । यो महायज्ञ सञ्चालन भएको दोस्रो दिनसम्मको सबैभन्दा ठूलो राशीको सहयोग रहेको मूल समारोह समिति सचिवालय सदस्य रामकृष्ण कँडेलले जानकारी दिनुभएको छ ।
त्यसैगरी अर्लाङ्कोटकै स्व। दुल्लप सापकोटाका छोरा नातीहरू खर्याना साहुका १२ भाइ परिवारवाट २० लाख २१ हजार एक सय ५१ रुपैयाँ सहयोग प्राप्त भएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित रजत जयन्ती महोत्सव एवम् धनधान्याचल ज्ञान महायज्ञमा सहयोगीहरूको सङ्ख्या बढ्दै गएको छ ।
महायज्ञको दोस्रो दिनसम्म डेढ करोड रुपैयाँ सङ्कलन भइसकेको छ । स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरूबाट रकम सङ्कलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् मूल समारोह समिति संयोजक यदुलाल सापकोटाले बताउनुभयो ।
विद्यालय स्थापनाको २५ औँ वर्ष पूरा भएको अवसरमा धनधान्याचल ज्ञान महायज्ञको आयोजना भएको हो । महायज्ञको १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज र १००८ स्वामी विवेकानन्द सरस्वती महाराजले हिजो मङ्गलवार शुभारम्भ गर्नुभएको थियो । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने र माध्यमिक तहसम्म अध्ययनका लागि तीन करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक यज्ञमूर्ति सापकोटाले बताउनुभयो ।
यही फागुन १६ गतेसम्म सञ्चालन हुने रजत महोत्सव एवम् धनधान्याचल महायज्ञमा अर्लाङ्कोटमा जन्मेर रोजगारी र व्यवसायका क्रममा स्वदेश तथा विदेशमा रहेका व्यक्ति, स्थानीय जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा श्रद्धालुहरूको सहभागिता रहेको समितिका उपसंयोजक प्रेम सापकोटाले बताउनुभयो ।
विद्यालयले राखेको उद्देश्य पूरा गर्न विभिन्न व्यक्तिहरूले स्वतःसस्फूर्तरूपमा सहयोग गर्न थालेका छन् । सहयोगीहरू बढ्दै जाँदा थप उत्साह थपिएको आर्थिक समिति संयोजक विश्वनाथ सापकोटाले बताउनुभयो ।