कृष्ण अन्जान भट्कुवा .
गुल्मी डम्म बादलले ढाकेको दिन ,दुईचार थोपा पानीपनि आकाशले झार्दैछ , तरपनि रुरुक्षेत्र गाउँ पालिका वडा न १ मा पर्ने एउटा टापु भट्कुवाको सालिपोखरीमा आमा दिदी बहिनीहरुको लर्को लाग्न भने छाडेको छैन । भट्कुवा गाउँका आमा दिदीबहिनी हरु त जम्मा नहुने कुरै भएन ,नजिकैको रिडीबजार र च्यूरेक तिरबाट पनि आमा दिदीबहिनीहरुको आउने क्रम जारी छ । रुरुक्षेत्र गाउँ पालिका वडा न १ ले वडाले गर्ने कार्यक्रमहरुलाई विकेन्द्रित गर्दै ११३औँ अन्तराष्ट्रिय महिला दिवसलाई भट्कुवा गाउँमा गर्ने निधो गरेपछि भट्कुवा गाउँले विशेष तयारीका साथ यो दिवस मनाउने भव्य तयारी मात्र गरेन कि सोहि तयारीमै भव्यताको साथ सम्पन्न गरेको छ । महिला हरुलाई लक्षित गरि चेतनामुलक गित र नृत्य प्रतियोगिता आयोजना गरेको कार्यक्रममा रुरुक्षेत्र गाउँ पालिकाका सात वटा समूहले महिला अधिकारका गितहरु धित मरुन्जेल गाए भने नाचेर समेत उधुम मच्याए जस्ले सालिपोखरीको चिसो मौसममा तातोपन ल्यायो । हुन पनि परम्परावादि पोशाकमा सजिएका आमादिदी बहिनीहरुको नाचगानले अन्तराष्ट्रिय महिला दिवसले रौनकता छायो । नृत्य र गितको खुल्ला प्रतियोगिता त छँदै थियो म्युजिकल चियर र घैँटो फोर्ने खेलले पनि आमा दिदीबहिनीहरुलाई रमाईलो गरायो । मुख्य रुपले महिला अधिकारका गितहरुलाई मादल बजाउँदै प्रतियोगितामा भाग लिएका आमा दिदीबहिनीहरुले महिला अधिकारको जोडदार माग गरे ।सात समुहले भाग लिएको प्रतियोगितामा भट्कुवा आधारभुत विध्यालय प्रथम ,जनप्रिय आमा समुह भट्कुवाको टिम द्दितिय चेतनशिल आमा समूह रिडी तृतिय र च्युरेकको स्वास्थ आमा समुहले सान्त्वना पुरस्कार प्राप्त गरे । अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रममा रिडी इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक ज्ञान बहादुर थापा ,रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विक ,रुरुक्षेत्र गाउँ पालिकाका पुर्व गाउँ कार्यपालिका सदस्य भगवती बराल ,जनकल्याण आमा समूह भट्कुवाकी अध्यक्ष लक्ष्मी ज्ञवाली ,रुरुक्षेत्र १ का वडा सचिव राम प्रसाद ज्ञवालीले ११३ ओैँ अन्तराष्ट्रिय महिला दिवसका बारेमा बोलेका थिए । रुरुक्षेत्र गाउँपालिका कार्यपालिका सदस्य समेत रहेकि रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडा सदस्य लक्ष्मी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रुरुक्षेत्र १ का वडा सदस्य लक्ष्मी सुनार र सन्चालन वडा सदस्य शुसिल श्रेष्ठले गरेका थिए । हामीले हरेक टोलहरुमा यसरी नै कार्यक्रम गर्ने योजना बनाएका छौँ ,यो विकेन्द्रित रुपमा गरिने कार्यक्रमले सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व पनि हुन्छ र सबै टोलवासीहरुको कृयाशिलता पनि बढ्छ रुरुक्षेत्र १ का वडाध्यक्ष नवराज विकले भने । मुख्यतः रुरुक्षेत्र गाउँ पालिका १ का वडास्तरिय कार्यक्रम हरु रुरुक्षेत्रको रिडीबजारमा मात्र आयोजना हुने परम्परालाई तोड्दै यो पटक बाट वडाका कार्यक्रम हरुलाई वडाको च्यूरेक ,भट्कुवा र रिडीबजार मा पालैपालो गर्ने योजना बनाइएको छ ।