गुल्मी ।
नेपाली समुदायमा धन र मन भएका व्यक्ति कम मात्रै छन् । धेरै धन भएकाहरुले सामाजिक कर्म गर्दैनन् । तर, प्रसिद्ध धार्मिक स्थल रेसुंगाको काखमा एक व्यक्तिले एक करोड बढि खर्च गरेर मन्दिर निर्माण गरेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका–३ का सुब्बा बस्नेतले व्यक्तिगत लगानीमा रामसीता मन्दिर निर्माण गरेका छन् । उनले राम नबमीको अवसरमा स्वामी विवेकानन्द मार्फत मन्दिरको उद्घाटन गरेका छन् । रेसुंगा नगरपालिका–१३ को राम्चे डाँडामा बस्नेतले मन्दिर बनाएका हुन् । स्थानीयका अनुसार त्रेतायुगमा रेसुङ्गामा भगवान श्रीराम जाने बेलाका पाइला छोडेका थिए । पछि सडक निर्माणको क्रममा पाइलाहरु फुटालिएपछि आफुले सोहि ठाउँमा एक करोड खर्च गरेर मन्दिर निर्माण गरेको बताए । स्थानीयले ती पाइलाहरु रहने बेलासम्म एकदशीका दिन पुजा गर्ने गर्थे । उनी इन्जिनीयर पनि हुन् । आफैले डिजाइन गरेर मन्दिर बनाएका हुन् । भुवानेडाँडा पर्यटकीय क्षेत्र भएकाले पिकनिक स्र्पोटका रुपमा अगाडी बढाइएको थियो । अहिले बस्नेतले आर्कषक मन्दिर बनाएपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । ‘मन्दिरले पर्यटन विकासलाई जोड्छ । आफ्नै डिजाइन र खर्चमा मन्दिर बनाएँ,’उनले भने,‘स्थानीयको सहयोगमा संरक्षण गर्ने हो ।’ उनले गाउँका अरु धेरै मन्दिरहरुको संरक्षण, मर्मत, गरिव तथा विपन्न परिवारलाई संरक्षण गर्ने गरेका छन् । पछिल्लो समय रेसुंगा क्षेत्रमा करोडौका धार्मिक तथा पर्यटकीय संरचनाहरु थपिएका छन् । रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले मनकारी सुब्बा बस्नेत जस्ता मान्छे समाजमा बिरलै भेटिने बताए । उनले रेसुंगा क्षेत्रको विकासका लागि देखेको सपना र गरेको कार्य निकै उदाहरणीय रहेको बताए ।