भनिन्छ, ‘आमा महान् छिन् ।’ कोहलपुर–२, गौरीनगरकी कस्तुरा बुढाले सन्तानका लागि आमाको महानतालाई एकपटक सहतमा ल्याएकी छिन् । छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को शुल्क तिर्न उनले आफ्नो तिलहरी धितोमा राखेकी छिन् । विद्यालयमा शुल्क नबुझाउँदासम्म परीक्षाका लागि प्रवेशपत्र नपाउँदा उनले छोराको पढाइका लागि गलामा लगाएको तिलहरी धितोमा राखिन् ।
हिजो बिहीबार कोहलपुरको एक सुनचाँदी पसलमा उनले पाँच हजार रुपैयाँमा तिलहरी धितो राखेकी छिन् । ‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोराको शुल्क तिर्न सकेको थिएनँ,’ उनले भनिन्, ‘शुल्क नतिर्दासम्म स्कुलले प्रवेशपत्र दिएन । अन्तिममा तिलहरी धितोमा राखे र छोराको शुल्क बुझाए ।’ तिलहरी बिक्री गर्न उनले घरमा पालेको एउटा खुसी बिक्री गर्ने सोच बनाएकी थिइन् ।
‘तर, गाउँमा मान्छे बिते,’ उनले भनिन्, ‘मान्छे बितेपछि गाउँमा खसी काट्ने कुरा भएन । त्यसो नहुँदा मैले पालेको खसी बिक्री भएन । अनि छोराको परीक्षा नरोक्न तिलहरी नै धितोमा राखेँ ।’
कोहलपुर–२, गौरीनगरमा रहेको कस्तुरा बुढाको घर
उनका दुई छोरा नजिकैको समावेशी माध्यमिक विद्यालय तिलकपुरमा कक्षा १० मा अध्ययन गर्छन् । नवीनबहादुर बुढाको स्वास्थ्य अवस्था राम्रो नहुँदा उनले एसईई परीक्षा दिन नसक्ने अवस्थामा छन् । कस्तुराले तिलहरी धितो राखेर शुल्क तिरेपछि पृथीबहादुरले भने आजदेखि हुने एसईई दिन पाउने भएका छन् ।
‘विद्यालयबाट छोराको शुल्क दिन बेलाबेला खबर आउथ्यो,’ उनले भनिन्, ‘तर के गर्नु गरिबीले गर्दा शुल्क तिर्न सकेको थिएन ।’ अन्तिममा परीक्षा छुट्ने भएपछि तिलहरी धितोमै राखेर भए पनि शुल्क तिरिदिएको उनले बताइन् । ‘छोराको खुसीका लागि मेरा खुसीहरु सामान्य हुन्,’ उनी भन्छिन्, ‘छोराछोरी खुसी भएपछि म त्यसै खुसी ।’
मासिक तीन प्रतिशत ब्याज दिने गरी तिलहरी धितोमा राखेको उनी बताउँछिन् । छोराको विद्यालय शुल्क तिर्न धितोमा राखेरको तिलहरी कसरी निकाल्ने उनलाई समस्या छ । विद्यालयसँगै उनले छोराको गुणस्तरीय शिक्षाका लागि होस्टेलसमेत पढाएकी थिइन् । होस्टेलको पैसा तिर्नसमेत उनलाई हम्मेहम्मे भएको थियो ।
उनका श्रीमान् रोजगारीका लागि फागुन ११ गते भारत पुगेका छन् । गएको एकहप्तामा उनले उतैबाट ऋण निकालेर २० हजार रुपैयाँ घर पठाए । उक्त रुपैयाँ नवीनबहादुरको उपचारमै सकियो । पृथीबहादुरका लागि शुल्क तिर्ने पैसा नबचेको कस्तुरा बताउँछिन् । एउटा हात, खुट्टा, आँखा र थोरै मानसिक समस्याबाट नवीन पीडित छन् ।
समावेशी माध्यमिक विद्यालय
सम्पत्तिको नाममा एउटा सानो जस्तापाताले बनाएको घर छ । एकमुठी उब्जनी हुने जग्गा छैन । कस्तुराले पनि दैनिक ज्यालादारी काम गर्थिन् । श्रीमान् रत्नबहादुर पनि काममा जान्थ्ये । तर दैनिकजसो काम नपाउँदा घरपरिवार चलाउन उनीहरुलाई समस्या थियो । गाउँघरमै दैनिक ज्यालादारी काम नपाउँदा श्रीमान् भारत गएको उनले बताइन् । ‘आजभोलि ठूलो छोरा ९नवीनबहादुर० अलि बढी बिरामी भएपछि म पनि काम जान छाडेको छुँ । उसकै धरालो हुनुपर्छ,’ उनले भनिन्, ‘श्रीमान् भर्खरै कमाउन भारत जानु भएको छ ।’
उक्त विद्यालयले विभिन्न शुल्क भन्दै कक्षा १० का विद्यार्थीबाट करिब नौ हजार आठ सय रुपैयाँसम्म शुल्क उठाउने गरेको छ । विद्यालयले विद्यालय विकास सहयोगका नाममा प्रतिविद्यार्थी एक हजार ६ सय, मासिक शुल्क प्रतिमहिना चार सयका दरले ११ महिनाको चार हजार चार सय, रजिस्ट्रेशन शुल्क एक हजार पाँच सय, तीनवटा परीक्षाको एक हजार दुई सय, प्रयोगात्मक क्रियाकलापका लागि सात सय र एसईई परीक्षा शुल्कका नाममा चार सय रुपैयाँ विद्यालयले कक्षा १० का विद्यार्थीबाट उठाउँदै आएको छ । यो शुल्क तिर्न कस्तुरालाई निकै गाह्रो छ ।
एसईईपछि छोराको पढाइको चिन्ताले सताएको उनी बताउँछिन् । ‘एसईई दिन त पाउने भयो । खुसी लागेको छ,’ उनले भनिन्, ‘एसईई पासपछि के पैसाले छोरालाई पढाउने हो चिन्ता लागेको छ ।’