गुल्मी
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले एकीकृत घुम्ती शिविर सम्पन्न गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ रिमुवामा सम्पन्न शिविरमा डाक्टरसहितको स्वास्थ्य सेवा, आयुर्वेद सेवा, अपाङ्गता परिचय पत्र वितरण, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी सेवा प्रदान गरिएको थियो । त्यस्तै पशुपंक्षी स्वास्थ्य सम्बन्धी चेकजाँच तथा निःशुल्क औषधी वितरण, निःशुल्क कृषि औषधी÷विषादी वितरण तथा परामर्श, मनसुनजन्य विपद्मा परेका लाभग्राहीहरुको सम्झौता, प्रकाशित गरिव परिवारको प्रारम्भिक सूचि उपर गुनासो दर्ता र व्यवसाय दर्ता नविकरण सेवा उपलब्ध गराइएको थियो । शिविरमा कुल ४०२ जना लाभाम्बित भएका छन् । जसमध्ये ३२ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । कृषि सेवा ५०, आयुर्वेद ८७, पशु सेवा ७१, स्वास्थ्य सेवा १०८ जनालाई प्रदान गरिएको छ । गुनासो सुनुवाई आठ जना, मनसुनजन्य विपत्मा परेका पाँच जनाको सम्झौता, दुईवटा व्यवसाय दर्ता र आठ जनाको गुनासो सुनुवाई गरिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । नागरिकलाई छिटो–छरितो सेवा प्रदान गर्नको लागि रिमुवामा शिविर संचालन गरिएको ज्ञवालीले बताए