लुम्बिनी प्रदेशमा तीन मन्त्री थपिए , ७ सदस्यीय मन्त्रीपरिषद बन्यो।
जेठ ९
लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा कांग्रेसबाट स्वास्थ्य मन्त्री बनेका दाङ २ (१) का राजु खनाल, जनमत पार्टीबाट सामाजिक विकासमन्त्री बनेका रुपन्देही ५(२) का चन्द्रकेश गुप्ता, जसपाका कृषि तथा भूमि व्यवस्था मन्त्री बाँके २(१) का भण्डारीलाल अहिरले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
तीनै जना मन्त्रीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आइतबार मन्त्रीमा नियुक्त गरेका थिए । तीन मन्त्रीको शपथसँगै लुम्बिनी प्रदेशमा ७ सदस्यीय मन्त्रीपरिषद गठन भएको छ । लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् । ८ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा दाङको ३ (१)बाट निर्वाचित चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गठबन्धनमा ८ दल भएकाले मन्त्रालय भागबण्डा र आफ्नै पार्टी कांग्रेसभित्रको विवादले मन्त्रीपरिषद् विस्तार रोकिएको थियो । विभागीयमन्त्री अभावमा बजेट निर्माणमा समस्या परेको दबाब बढेपछि मुख्यमन्त्री चौधरीले सोमबार कांग्रेसबाट १, जनमतबाट १, जसपाबाट १ जना मन्त्री थप गरेका हुन् ।
यसअघि वैशाख १५ गते माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री नियुक्त भएका थिए । माओवादीका मास्कीलाई यसअघि नै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
नागरिक उन्मुक्ति पार्टीका चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री र लोसपाका पाण्डेयलाई सोमबारदेखि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएका छन् ।