दुई रुपैयाँ केजीमा पनि बिकेन बन्दा
भरतपुर– ६ पारसनगरका रूपलाल राय यादवले ६ लाख लगानीमा चार बिघा जमिनमा बन्दा लगाए । बन्दा उत्पादन पनि राम्रो भयो । तर, बेच्ने वेला केजीको दुई रुपैयाँ पनि मूल्य नपाएपछि बरु मल बनोस् भनेर यादव बारीमा ट्रयाक्टर लगाउँदै छन् ।
यादवले प्रतिकेजी दुई रुपैयाँ पनि नपाएको बन्दाका लागि उपभोक्ताले भरतपुरका बजारमा ३३ र काठमाडौंमा ६० रुपैयाँसम्म तिर्नुपरेको छ । आफ्नै घरमा निराश अवस्थामा भेटिएका यादवले भने, ‘बारीमा सुक्दै गरेको बन्दा देख्दा झन् पीडा बढ्छ । केही दिनयता त खेतबारीमै गएको छैन ।’ उनले तीन बिघामा १० माघ र एक बिघामा १० फागुनमा बन्दा लगाएका थिए । ९० दिनपछि बन्दा बिक्रीका लागि योग्य हुन्छ । ‘गत साल डेढ बिघा ९२५ कट्ठा०मा लगाएको बन्दा यही समयमा प्रतिकेजी ३० रुपैयाँभन्दा कममा बेच्नुपरेको थिएन । यसपटक मुस्किलले १० कट्ठाको मात्र बिक्री भयो होला,’ उनले भने, ‘बोराको सयदेखि दुई सय रुपैयाँका दरले केही दिनअघि बिक्री भएको थियो । त्यो पनि व्यापारीले लगेर बिक्री भए मात्रै हिसाब गरेर पैसा दिन्छ । एक बोरामा ५० केजीसम्म हुन्छ ।’
केही ऋण र अघिल्लो उत्पादन गाँजरबाट आएको आम्दानी उनले यसपटक बन्दामा लगाएका थिए । ‘कम मूल्यमै बिक्री भए पनि धेरै घाटा लाग्दैनथ्यो, तर बिक्री नै हुँदैन,’ उनले पीडा पोखे । यादव रौतहटबाट चितवन आएर बिघाको वार्षिक ६० हजार भाडा तिरेर खेती गर्दै आएका छन् । ‘बिक्रीका लागि तयार भएका तरकारी स्टोर गर्न सक्ने क्षमता पनि हामी किसानसँग छैन,’ उनले भने, ‘अब दुई हप्ता कुर्छु, बिक्री नभए ट्रयाक्टर लगाउँछु ।’ पारसनगर क्षेत्रमै १६ कट्ठामा मोतीलाल राय यादवको, १५ कट्ठामा जीवसलाल राउत र २२ कट्ठामा शिवनारायण पटेलले लगाएको बन्दा पनि बिकेको छैन । उनीहरूको सबैको कथा एउटै छ । परिवारको आर्थिक स्रोत तरकारी खेती नै भएका उनीहरू उचित मूल्य नपाउँदा मारमा परेका छन् ।
विशेषतः साना किसानको रोजाइमा बन्दा खेती पर्ने गर्छ । जसलाई सजिलो खेतीको रूपमा पनि लिइन्छ । लहरे बालीको तुलनामा यो खेती सस्तो छ । झिक्रा लगाउन पर्दैन, सो कारण बाँस र डोरीमा लगानी लगाउनुपर्दैन । रोप्न पनि धेरै जनशक्ति चाहिँदैन । भरतपुर– २५ का कृष्णप्रसाद रेग्मीले ६ कट्ठामा उब्जाएको बन्दा पनि बिक्री भएको छैन । तीन बिघामा तरकारी लगाएका उनले भने, ‘घाटा खाएर दुःखले खेती गर्नुको के अर्थ रु’ प्रतिकट्ठा बन्दाका लागि बिउ, उत्पादनदेखि बिक्रीयोग्य बनाउँदासम्म १५ हजार खर्च भएको उनले बताए । ‘आफ्नो दुःखको त हिसाब नै छैन, बिक्रीका लागि अर्डर आए पनि खेतालालाई प्रतिदिन पाँच सय दिएर बन्दा टिपेर अहिलेको मूल्यमा बेच्नु उल्टो घाटा हो,’ उनले भने । ‘बाँकी रहेको बन्दा पनि दुई–चार दिनमा सबै कुहिन्छ । कोभिड– १९ पछि लगातार तरकारी खेतीमा घाटा खानुपरेको छ ।’ युवा किसान सुमन सुवेदी पटक–पटक किसान आन्दोलित हुँदा पनि राज्यले बेवास्ता गरेको बताउँछन् ।