काँचुली फेर्यो साढे पाँच शताव्दि पुरानो रुरुधामको मणिमुकुन्देश्वर महादेव मन्दिरले ।
कृष्ण अन्जान
जेठ ३०
रुरुधाम
धार्मिक पर्यटनक्षेत्रको रुपमा विकास हुन लागेको रुरुधाममा पर्यटकीय सम्भावनाका खोजी गर्दै नयाँ सँरचना निर्माण कार्य भईरहेका छन भने पुराना धार्मिक, साँस्कृतिक र ऐतिहासिक सँरचनाहरुको पुनर्निर्माणसँगै मर्मत सँभार पनि शुरु गरिएको छ ।
संघ, प्रदेश र स्थानीय निकायको समन्वयमा रुरुधामलाई पुनर्निर्माण र निर्माणको कार्यले गति लिन थालेको आभास पाईएको छ ।
रुरुधामको गुल्मी तर्फ रहेको करिब साढे पाँच शताव्दि पुरानो मणिमुकुन्देश्वर महादेव मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ, मन्दिर चिटिक्क पारिएको छ ।
बिक्रम सम्वत १५३० मा पाल्पाली राजा मणिमुकुन्द सेनले यो मन्दिर निर्माण गरेको इतिहास छ ।
सबैभन्दा बिशेष कुरा त यो मन्दिर निर्माण भएको उचाई र मणिमुकुन्द सेनले नै स्थापना गरेको ऋषिकेश मन्दिर रहेको स्थान समदुरीमा छ र उत्तिकै उचाइमा रहेको छ भने वारि मणिमुकुन्देश्वर मन्दिरको गजुर र पारी ऋषिकेश मन्दिरको गजुरको उचाइ समेत बराबर छ ।
ईतिहास भन्छ, पाल्पाली राजा मणिमुकुन्द सेनले पाल्पातर्फ ऋषिकेश भगवानको शिला सहितको मन्दिर स्थापना गरेपछि गुल्मी तिरका वासिन्दाको मन नदुखोस भनेर समदुरीमा मणिमुकुन्देश्वर महादेव मन्दिर स्थापना गरे । तर पाल्पा तर्फको ऋषिकेश मन्दिरको चहलपहल बढ्यो तर वारि गुल्मी तर्फको महादेव मन्दिर ओझेलमा रह्यो ।
त्यसो त यो मन्दिरको दैनिक पुजा चलोस भनेर पाल्पाको अर्गलीमा १ सय २० मुरि माटो गुठिको व्यवस्था गरेपनि वार्षिक सात मुरिधान पाउने गरेको र यहि धानले धुप दिप नैवेध व्यवस्था गरि दैनिक पुजा पाठ चलाएको मन्दिरका पुजारी टंक खनालले जानकारी दिए । जेनतेन पुजा चलाएको छु, गुठीको जग्गाको थातथलो छैनू पुजारी खनाल भन्छन ।
यतिलामो समयसम्म ओझेलमा परेको मणिमुकुन्देश्वर महादेव मन्दिरको पुनर्निर्माणका लागि लुम्बिनी प्रदेशका पुर्व साँसद कमल राज श्रेष्ठको पहलमा तत्कालीन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीको तर्फबाट २० लाख बजेट विनियोजन भएसँगै यो मन्दिरले काँचुली फेरेको हो ।
रुरुधामको अत्यन्तै उपयुक्त र सुरक्षित ठाउँमा रहेको यो मन्दिरको अवस्था जिर्ण भईसकेको र यसको पौराणिकता झल्किने गरि नयाँशैलिमा पुनर्निर्माण गर्ने लक्ष्य लिएर शुरु गरिएको मन्दिरको पुनर्निर्माण सकिएको छ, रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विकले भने ।
यसैबीच मणिमुकुन्देश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि स्थानीय चन्द्रलाल कसजुको अध्यक्षतामा सात सदस्यीय मन्दिर पुनर्निर्माण उपभोक्ता समिति गठन गरिएको थियो
समितिको उपाध्यक्ष सचिव र कोषाध्यक्षमा क्रमशः टंक खनाल, माधव ज्ञवाली, तुल्सी श्रेष्ठ र सदस्यमा भुवन श्रेष्ठ, राम प्रसाद शर्मा र शान्ति थापा रहेका थिए भने यसैगरी जीवन कसजुको अध्यक्षतामा गठित तीन सदस्यीय अनुगमन समितिमा शुवर्णलाल कक्षपती र ईन्दिरा खनाल रहेर कार्य सम्पन्न गरेको रुरुबाट पत्रकार कृष्ण अन्जानको खबरमा उल्लेख छ ।