गुल्मी अस्पतालले नेपाल सरकारबाट वितरण हुने सुत्केरी भत्ता दिन छोडेको छ । जसले गर्दा राज्यबाट पाउने सेवाबाट सुत्केरी आमाहरु बञ्चित भएका छन् ।
जिल्ला सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पतालले पछिल्लो एक महिनायता सुत्केरी भत्ता वितरण गर्न बन्द गरेको छ । नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएवापत प्रत्येक सुत्केरी आमाहरुलाई यातायात खर्च वापत २ हजार दिने गर्दछ ।
त्यस्तै गर्ववती महिलाले सरकारी स्वास्थ्य संस्थामा चार पटक भन्दा बढी गर्भ चेक जाँच गराएको भए थप ८ सय रुपैयाँ पाउछन् । तर अहिले गुल्मी अस्पतालले यी दुबै सेवा दिन छोडेको छ । जसले गर्दा अस्पतालमा सेवा लिन आउने सुत्केरी महिलाहरु मारमा परेका छन् ।
अस्पतालले सुत्केरी महिलाहलाई तुरुन्तै रकम वितरण गर्न नर्सिङ इन्चार्जलाई पेस्की रकम दिने गरेको थियो । तर अहिले त्यो पेश्की रकमको फर्स्यौट नगरेकाले अस्पतालले सुत्केरी महिलाहरुलाई दिने रकम दिन छोडेको हो ।
एउटै व्यक्तिले पटक–पटक फेश्की लिन नमिल्ने र रेकर्ड पनि उपलब्ध नभएकाले यो सेवा केहि दिनका लागि बन्द भएको अस्पतालका प्रमुख डक्टर राजेन्द्र बहादुर जिसीले बताउनुभयो ।
पेश्की लिएका नर्सिङ इन्चार्जले आवश्यक कागजपत्र उपलब्ध गराउन नसकेकाले सुत्केरी महिलाहरुले पाउने अधिकारबाट बञ्चित गरिएको छ । पेश्की लिएका नर्सहरु लेखापाल नभएकाले उपलब्ध गराउन नसकिएको भनेर उम्किने गरेका छन् ।
केहि महिनाअघिको अवधीमा अस्पतालका प्रमुख र लेखापालको सरुवा भएकाले बिबिध समस्या आएको जिसीले बताउनुभयो । अहिले पुरा नभएका कागजपत्रहरु तयार गर्ने र पेश्की रकम फर्यौट गर्ने कार्यका लागि काम भइरहेको उहाँले बताउनुभयो ।
पछिल्लो समय सेवा लिएका सुत्केरी आमाहरुको सम्पर्क नम्बर राखेकाले समस्या समाधान भएपछि बोलाएर बितरण गरिने अस्पताल प्रमुख जिसीको भनाई छ ।
गुल्मी अस्पतालमा पछिल्लो असोजदेखि जेठसम्म सुत्केरीले पाउने रकमका लागि नेपाल सरकारसँग भुक्तानी दावी भएको छैन् । प्रत्येक महिना सुत्केरी भएका महिलाहरुको विवरण तयार गरेर सरकारसँग भुक्तानीका लागि फारम पेस गर्ने गरिन्छ ।
तर कर्मचारीकै ढिलासुस्तीका कारण असोजबाट अहिलेसम्म विवरण पेस नभएको गुल्मी अस्पतालले जनाएको छ । अहिले अस्पतालले सुत्केरी महिलाहरुलाई दिने रकम नदिंदा चौतफी रुपमा आलोचना भइरहेको छ ।
गुल्मी अस्पतालमा मासिक ५० देखि ७० जनासम्मले सुत्केरी सेवा लिने गरेका छन् । सो अस्पतालमा वार्षिक ६ सय भन्दा वढि महिलाहरुले अस्पतालमा बच्चा जन्माउने गरेको तथ्याङक रहेको छ ।