रैनादेबी छहरा गाउँपालिकाले व्यवसायीक किसानलाई आधुनिक कृषि उपकरण बितरण गर्यो ।
असार ५
रैनादेबी छहरा गाउँपालिकापाल्पाले व्यवसायीक किसानलाई हाते ट्याक्टर र कुटानी पिसानी मेसिन वितरण गरेको छ ।
कृषकको उत्पादन लागत घटाउन तथा कृषिलाई यान्त्रिकरण र प्रविधि युक्त बनाउन कृषकहरूको ५० प्रतिशत लागत साझेदारीमा सामग्री वितरण गरेको हो । व्यवसायिक कृषि पेशामा लागेका कृषकलाई अनुदानमा विभिन्न सामग्री दिएपछि कृषक खुशी भएका छन् ।
गोरु पाल्ने कृषकको बाध्यता हटेको छ । कृषकको मागका आधारमा वडाको सिफारिस तथा व्यवसायिक कृषकको अनुगमन गरेर व्यवसायिक कृषि पेशामा लागेका कृषकलाई आधुनिक तथा प्रविधिमैत्री बनाउन ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर र कम्वाइन मेसिन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश शारूले बताएका छन् ।
कृषि पेशालाई आधुनिक र प्रविधियुक्त बनाएर थोरै लागतमा उत्पादन बढाउन तथा आम्दानी वृद्धि गर्न कृषकको मागका आधारमा सामग्री वितरण गरेको गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले बताए । यान्त्रिक उपकरण किसानको खेतबारीमा नपुगेसम्म वैज्ञानिक ढंगले कृषिक्षेत्रको विकास सम्भव हुन नसक्ने बताउँदै आफ्नो पालिका भित्रका व्यवसायिक कृषकलाई कृषिक्षेत्रमा प्रयोग हुने उपकरण नगरपालिकाले उपलब्ध गराउने बताए । उत्पादन बिना आर्थिक समृद्धिको कल्पना समेत गर्न नसकिने भएकाले व्यवसायिक कृषि पेशामा लागेर स्वरोजगार बन्न कृषकलाई आग्रह गरे । व्यवसायिक कृषिमा लागेका कृषकलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कृषि पेशालाई प्रविधिमैत्री बनाउँदा उत्पादन बढी भएपछि आम्दानी बढ्ने गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले बताए । उनले एक हल गोरुले दिनभरमा जोत्ने खेतबारी हाते ट्याक्टरले एक घण्टामै सम्पन्न गर्ने बताए । कार्यक्रममा प्रवक्ता देवेन्द्र पुन, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।