अटिजम पाठशाला रिडीमामा अक्षयकोष स्थापना
असार १४
रुरुक्षेत्र गाउँपालिका
गुल्मीको रुरुक्षेत्र गाँउपालिका १ रिडीमा रहेको अटिजम पाठशालामा ५ लाखको अक्षयकोष स्थापना गरिएको छ । रुरुक्षेत्र गाउँपालिका वार्ड न १ रिडिमा संचालनमा रहेको अटिजम पाठशालामा पशुपति अमात्य अक्षयकोष स्थापना गरिएको हो । समाजसेवी स्वर्गीय अमात्यको स्मरणमा अमात्यको दिनकोको अवसर पारेर अमात्यका छोरा ओम प्रसाद अमात्यले अक्षयकोष स्थापना गरेका हुन् ।
ओम प्रसाद अमात्यले सबैको सहयोगले अटिजम भएका बालबालिकाको जिवनमा परिवर्तन ल्याउन सकिने भएकोले कोष स्थापना गरिएको बताउनु भयो ।
रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले पशुपति अमात्यको सत्कर्मको सबैलाई सामाजिक बन्न प्रेरित गर्ने बताउनु भयो । “पैसा धेरैले कमाएका छन, तर कमाएको पैसा सामाजिक कर्ममा खर्च गर्ने स्वर्गीय अमात्य परिवारको प्रशंसा जति गरेपनी कम हुन्छ, उठेको रकमको सदुपयोग होस” अध्यक्ष ज्ञवालीले भन्नु भयो । पाठशालाको नियमित संचालनका लागि आफुले प्रदेश सरकार संग पहल गरिरहेको र यहाँका बालबालिकाको उपचार थेरापी समेत गर्ने गरि शिक्षकलाई तालिम समेत दिलाउने गरि योजना बनाईरहेको बताउनु भयो ।
रुरुक्षेत्र गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष नबराज बिकले रुरुक्षेत्र आसपासमा स्वर्गीय अमात्यले आफ्नो सामाजिक कर्मले गहिरो छाप छोडेको स्मरण गर्नु भयो ।
कार्यक्रम संचालन गर्दै पाठशालाका संस्थापक बिष्णु भण्डारीले अटिजम पाठशालालाई अध्ययन र थेरापीको सेन्टर बनाउने योजना रहेको बताउँदै त्यसका निम्ति सबैले सहयोग गरिदिन आग्रह गर्नु भयो ।
पाठशाला संचालक बिष्णु भण्डारीले चन्द्रकोट गाउँपालिकाका स्थायी बासिन्दा हाल लण्डन निवासी मोती भण्डारीले लण्डनमा रहेका गुल्मेलीहरुलाई आजिवन सदस्य बनाई यसको उन्नतिमा सहयोग गरेको भन्दै धन्यवाद दिनु भयो ।
पाठशालामा हाल ११ जना बिद्यार्थीले अध्ययन गरिरहेका छन भने लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री स्वयंसेवक शिक्षक कार्यक्रम अन्तरगत २ शिक्षिका उपलब्ध गराएको छ ।