लुम्बिनी प्रदेशमा लम्पी स्किन रोग नि:शुल्क नियन्त्रण अभियान सुरु ।
साउन ५
लुम्बिनी प्रदेश सरकारले पशु चौपायामा महामारीको रुप लिएको लम्पी स्किन रोग विरुद्ध सक्रियता देखाएको छ ।
हिजो विहिबार मन्त्रालयका सचिव यमनारायण देवकोटाको अध्यक्षतामा बाँकेको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा बसेको बैठकले प्रदेशभरी लम्पी स्किन रोगको विरुद्धमा खोप तथा संक्रमणबाट विरामी पशुको प्राथमिक उपचार अभियान सन्चालन गर्ने निर्णय गर्दै मन्त्रालयले सक्रियता बढाएको हो ।
बैठकले लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयले गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगको महामारी विरुद्ध जुध्न सम्बद्धहरुलाई आग्रह गरेको छ । बैठकले लुम्बिनी प्रदेशका सबैजसो क्षेत्रहरुमा लम्पी स्किन रोगको महामारी फैलिसकेकोले यसको रोकथाम र उपचारमा जुट्न सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
बैठक पछि, प्रभावित क्षेत्रको अनुगमन गरि तत्काल खोप तथा प्राथमिक उपचार संचालन गर्न आफ्ना मातहतका निकायलाई निर्देशन दिइएको सचिव देवकोटाले बताए ।
तत्कालका लागि लम्पी स्किन रोग नियन्त्रण आदेश जारी गरी प्रभावकारी रूपमा उपचार, रोकथाम तथा नियन्त्रण गर्न आवश्यक व्यवस्था मिलाउने काम भैसकेको मन्त्रालयले जनाएको छ । विहिबार बाटै प्रदेशका १२ वटै जिल्लामा यस किसिमको अभियान संचालन गरिएको छ । यस अभियान नि शुल्क रुपमा संचालन गरिने मन्त्रालयले जनाएको छ । सुरुतिर तराई र मध्यपहाडका जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएकोमा अहिले उच्च पहाडी तथा हिमाली क्षेत्रमा समेत फैलिसकेको छ।
गाईभैँसीलाई हुने यो एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ। सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ।