स्थानीय तहमा छिट्टै दरबन्दीअनुसारका कर्मचारी खटाईने ।
साउन ६
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नभएका स्थानीय तहमा छिट्टै दरबन्दीअनुसारका कर्मचारी खटाउने बताएको छ ।
मन्त्रालयले स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शून्यमा झार्ने पनि निर्णय गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको विशेष उपस्थितिमा हिजो शुक्रबार बसेको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो।
पदभार ग्रहण गरेदेखि नै मन्त्री मोदीले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।
मन्त्री मोदीको प्रतिबद्धता र त्यसपछिको विभिन्न निर्णयको निरन्तरतामा मन्त्रालयले यस्तो निर्णय गरेको हो।
निर्णयसँगै मन्त्रालयले निमित्तमार्फत् सञ्चालन भइरहेका स्थानीय तहमा दरबन्दीअनुसारका कर्मचारी खटाउनेछन्।
मन्त्री मोदी आउनुअघि झण्डै साढे ३ सय स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए। मन्त्री मोदीले यो संख्या १ सय ४२ मा झारेका थिए।
बैठकको निर्णयमा भनिएको छ, स्थानीय तहका यस मन्त्रालयबाट खटाई पठाउने प्रमुख प्रशासकीय अधिकृतको दरबन्दीमा कानुनबमोजिम निर्धारण गरेको पद तथा श्रेणीका कर्मचारी मात्र खटाउने नीति लिने तथा निमित्त खटाइ कामकाज गर्ने प्रचलन निरुत्साहित गर्ने नीति लिने,यसैगरी, बैठकले प्रदेश सचिवको जिम्मेवारीमा पनि कानुनबमोजिम तोकिएको पद तथा श्रेणीको कर्मचारी पठाउँदा जेष्ठताका आधारमा मात्रै पठाउने निर्णय पनि गरेको छ।