नेपाल–भारत नाकामा भारतीय सुरक्षाकर्मीले सुरक्षा जाँचमा कडाइ गरेका छन ।
साउन ६
नेपालगन्ज
नेपाल–भारत नाका जमुनाहमा एक्कासि भारतीय सुरक्षाकर्मीले सुरक्षा जाँचमा कडाइ गरेका छन ।
स्थानियलाई सीमापारि जान आउनका लागि पहिचानसहितको आधिकारिक परिचयपत्र भारतीय सुरक्षाकर्मीले अनिवार्य गरेका छन् ।
एक दिन पहिलेसम्म सामान्य रूपमा जाँच गराएर दुवै देशका नागरिकहरू नाका वारपार गर्दै आएकामा बिहीबार अपराह्नदेखि नाकामा तैनाथ भारतीय सुरक्षा निकाय एसएसबीले एक्कासि सुरक्षामा कडाइ गर्दै नागरिकता वा अन्य कुनै आधिकारिक परिचयपत्र भएकालाई मात्र आवागमन गर्न दिइरहेका छन् ।
एसएसबीले नाका पार गर्ने नेपालीसँग नागरिकता र मतदाता परिचयपत्र माग्ने गरेको छ भने भारतीय नागरिकसँग आधार कार्ड माग्ने गरेको छ । नाकामा आवागमन गर्ने दुवै देशका नागरिकलाई कडा सुरक्षा जाँच गरेर मात्रै छोड्ने गरिएको पाइएको छ ।
नाकामा तैनाथ एसएसबीका एक जना अधिकारी अनुसार केन्द्र सरकारले नेपाली नागरिकता वा अन्य पहिचानपत्रबिना प्रवेश गर्न नदिन आफूहरूलाई निर्देशन दिएकाले यस्तो गरिएको बताउनुभयो ।
उहाँले अहिले नाकामा अति नै कडाइ गर्नुका साथै नागरिकता नभएका नेपाली र आधार कार्ड नभएका भारतीयलाई प्रवेश गर्न नदिनु भनिएको छ, सोही गर्दै छौँ भन्नु भयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नाकामा आवागमन गर्नेलाई परिचयपत्र देखाएर आवागमन गर्न दिने कुरा पहिलेदेखि नै भइरहेको विषय भएको बताउनुभयो । उहाँले सो नियमलाई अहिले भारतीय सुरक्षाकर्मीले कडा रूपमा कार्यान्वयन गरेको हुन सक्ने जनाउँदै सोबारेमा जिल्ला प्रशासनलाई नयाँ कुनै जानकारी नआएको बताउनुभयो ।