गुल्मीका प्रदेश मातहतका कार्यालय र १२ वटै पालिकाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।
साउन ३१
गुल्मीमा आर्थिक बर्ष ०७९/८० मा संचालन गरिएका विकास निर्माणसँग सम्बन्धित कार्यहरुको बारेमा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा सोमबार र मंगलबार कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जिल्लामा विकासका कामसँग सम्बन्धित संघ र प्रदेश मातहतका कार्यालय एवम् १२ वटै पालिकाहरुले आफ्नो कार्यालयको गत आर्थिक बर्षको प्रगती विवरण प्रस्तुत गरेका थिए ।
समिक्षा कार्यक्रममा विकासका काम सोचेअनुसार हुन नसकेको, किसानहरुलाई बाँदर, बदेल लगायतका समस्याले सताएको, एकातर्फ विकास गर्दा अर्कोतर्फ विनाश भएको जस्ता बिषयमा पनि छलफल भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गदै लुम्बिनी प्रदेश सभा सदस्य डिल्लिराज भुसालले बाँदर, बँदेल लगायतका जंगली जनावर नियन्त्रणका लागि संघीय सरकारले आवश्यक कानुन बनाउनुपर्ने बताए ।
गुल्मी २ का सासंद गोकर्ण विष्टले विकासका काममा सबै एकजुट हुनुपर्ने धारणा राखे । कार्यक्रममा अधिकाशं पालिकाका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न कार्यालयहरुका प्रमुख एवम् प्रतिनिधि, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, पत्रकार लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
जिल्लामा गत आर्थिक बर्षमा भएका कामको समिक्षा गर्दै चालु आर्थिक बर्षमा संचालित योजनाहरुलाई थप प्रभावकारी बनाउनको लागि समिक्षा कार्यक्रम सम्पन्न गरिएको जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्रीले जानकारी दिए ।