हरि बोधनी एकादशी,रेसुंगामा बिशेष मेला लाग्ने ।
मंसिर ७
चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बो धनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ ।
हरि बोधनी अर्थात ठुली एकादशीको अवसरमा जिल्लाका दुई पालिकाले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका रेसुंगा नगरपालिका र गुल्मी दरवार गाउँपालिकाले आज मंसिर ७ गते हरिबोधनी एकादशीको अवसरमा धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुंगामा लाग्ने मेलालाई मध्यनजर गरेर सार्वजनिक विदा दिएका हुन् ।
हरिबोधनी एकादशीको अवसरमा रेसुमंगामा बिशेष मेला लाग्ने गर्दछ । हरिबोधनी एकादशीको दिन महापोखरीमा स्नान गर्ने र यज्ञशालाको दर्शन तथा मैरीमापुजा गर्नेहरुको बिहानैबाट भिड लाग्ने गर्दछ । मेला व्यावस्थापनको लागि विभिन्न उपसमिति गठन गरेर काम अगाडी बढाइएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए ।
महापोखरी चार धामको पानी मिसाइएकाले पोखरीमा नुहाउँदा अन्जानमा गरेका पापहरु नष्ट हुने धार्मिक मान्यता रहेको संरक्षण समितिका अध्यक्ष भुसालले बताए । हरिबोधनी एकादशीको अवसरमा रेसुगा समितिले भैलो र भजन कृतनको आयोजना गर्ने गरेको छ ।
अहिले रेसुंगा क्षेत्रमा पुग्ने सडक कालोपत्रे गरिएको छ । भने पछिल्लो समय थुप्रै महत्वपूर्ण धार्मिक संरचना निर्माण गरिएकोले आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा बृद्धि भएको रेसुंगा संरक्षण समितिले जनाएको छ ।