रेशम चौधरीको आममाफीमा कारण देखाउ आदेश जारी ।
मंसिर ७
सर्वोच्च अदालतले रेशम चौधरीको आममाफी सम्बन्धी मुद्धामा कारण देखाउ आदेश जारी गरेको छ ।
टीकापुर हत्याकाण्डको बाँकी कैद सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदनमा पनि सर्वोच्चले राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
यसअघि उक्त निवेदन पटकपटक पेसीमा चढाइए पनि विभिन्न कारण सुनुवाइ हुन सकेको थिएन । आज न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले कारण देखाउ आदेश दिएको हो ।
शारदा कडायत, मन्धरादेवी विष्टलगायतले गत कात्तिक २१ गते उक्त निवेदन दिएका थिए ।
२०७२ भदौमा कैलालीको टीकारपुरमा ८ सुरक्षाकर्मी र एक दूधे बालकको ज्यान जाने गरी भएको उक्त हत्याकाण्डमा जन्मकैद सजाय सुनाइएका रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा पाएर गत जेठ १५ गते छुटेका थिए ।
रेशम चौधरीको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी टीकापुर घटनामा श्रीमान् गुमाएकी शारदा कठायतले गत जेठ १६ गते नै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।