अस्पतालले मृत घोषणा गरी घाट लगेका व्यक्ति जीवितै ।
मंसिर २५
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ ।
विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवितै पाइएको हो ।
उनका छिमेकी पहल कटुवालका अनुसार उनलाई शनिबारे बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए । तत्काल इनरुवा अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नहुने भन्दै विराटनगरमा रहेको कोशी अस्पताल रिफर गरिएको थियो ।
शनिबार दिउँसो सो अस्पतालमा भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो ।
सदाको दाहसंस्कारका लागि उनीहरूको जातीय संस्कार र परम्परा अनुसार सबै तयार गरी मलामीसमेत जुटेर घाट लैजान लाग्दा उहाँ जीवित पाइएको कटुवालले जानकारी दिनुभयो ।
अस्पतालले मृत घोषणा गरेर घर ल्याइएका सदाको दाहसंस्कारका लागि परिवार र आफन्तजनले सामग्री किनमेल गरिसकेका थिए ।
सबै आफन्त छरछिमेक भेला भई स्थानीय सुनसरी खोलामा दाहसंस्कारका लागि लैजान लाग्दा केही व्यक्तिले उहाँ जीवित रहेको जस्तो देखेपछि उहाँलाई पानी र दुध खुवाएको स्थानीयले बताएका थिए । त्यसपछि सदाको स्वास्थ्य सुधार हुँदै सामान्य बन्दै गएको र घरमै राखिएको समाजसेवी कटुवालले जानकारी दिनुभयो ।
अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवित रहेको पाइएसँगै सदाको परिवार, आफन्त, छिमेकी र सामाजिक अगुवाहरू सो अस्पताल प्रशासनसँग आक्रोशित बनेका छन् । समाजसेवी राजेन्द्र पोख्रेलका अनुसार मेट्रो न्युरो अस्पतालले गरेको यस किसिमको चरम लापरबाहीको विषयमा स्थानीय प्रशासन र सुरक्षा निकाय गम्भीर बनी घटनामा संलग्न व्यक्ति र अस्पतालमाथि कडा कारबाहीको माग स्थानीयले गरेका छन्