गुल्मी, ६ फागुन ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा दादुरा–रुवेला खोप अभियानको अभिमुखिकरण गरिएको छ । हिजो गाउँपालिकामा स्थानीय तहस्तरीय खोप समन्वय समितिले बैठक तथा अभिमुखिकरण सम्पन्न गरेको हो ।
गुल्मीमा फागुन दोस्रो साताबाट दादुरा–रुवेला खोप अभियान सुरु हुँदैछ । नौ महिना पुगेर पाँच वर्षमुनिका बालबालिकालाई यो खोप लगाइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख छत्र अधिकारीले जानकारी दिए ।
फागनु २१ देखि २५ गतेसम्म रुरुक्षेत्रमा खोप अभियान सञ्चालन हुँदैछ । जसका लागि २७ वटा केन्द्र रहेका छन् । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मीनादेवी गौतमको अध्यक्षता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट खिमलाल पाण्डे, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, जिल्ला स्वास्थ्य कार्यालयबाट पशुपति आचार्य र सम्झना अधिकारी लगायत स्थानीय खोप कार्यक्रता, स्वास्थ्यकर्मी पत्रकार लगायतको उपस्थिति रहेको थियो ।