फागुन ९
नेपाल विद्युत् प्राधिकरणले बंगलादेशलाई बिजुली बेच्ने प्रस्ताव पेस गरेको छ । प्रतियुनिट करिब ९ रुपैयाँसम्ममा बिजुली बेच्ने गरी प्रस्ताव पठाएको स्रोतले जनाएको छ ।
प्राधिकरणले फेब्रुअरीको पहिलो साता बंगलादेशको पावर डेभलपमेन्ट बोर्डमा भारतकै महसुल बराबर बिजुली बेच्ने दरसहित प्रस्ताव पेस गरिसकेको छ । प्राधिकरणले प्रतियुनिट ६.७ सेन्ट ( मंगलबारको विनिमय दरअनुसार ८ रुपैयाँ ९१ पैसा) मा बिजुली बेच्ने गरी प्रस्ताव पेस भएको बताईएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकसहितको टोली आपसी समझदारीका लागि आज बंगलादेश जाँदै हुनुहुन्छ ।
समझदारी भएमा बंगलादेशको मन्त्रिपरिषद्ले निर्णय गरी सम्झौताको प्रक्रिया अगाडि बढ्छ । त्यसपछि मात्रै बंगलादेशसँग बिजुली बिक्रीको औपचारिक बाटो खुल्ला हुनेछ ।
प्राधिकरणले बिजुली बिक्रीबापतको मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । यो दर जुन १५ देखि नोभेम्बर १५ सम्मका लागि प्रस्ताव गरेको हो । सम्झौता अवधि ५ वर्ष हुनेछ ।
प्राधिकरणले भारतीय प्रसारण लाइन प्रयोग गरेबापतको भाडा शुल्क ह्विलिङ चार्ज बंगलादेशले नै तिर्ने जनाएको छ ।
एनटीपीसी विद्युत् व्यापार निगम (एनभीएनएन) लाई तिर्ने शुल्क र करिब ३ प्रतिशतका चुहावट बंगलादेशले नै बेहोर्ने गरी प्राधिकरणले प्रस्ताव पेस गरेको हो ।महसुल दरमा सहमति जुटेसँगै ४० मेगावाट बिजुली खरिदबिक्रीका लागि औपचारिक रूपमा हस्ताक्षर हुने प्राधिकरणले जनाएको छ ।
बंगलादेश मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको थियो । सोहीअनुसार मूल्यलाई प्राथमिकतामा राखेर बिक्रीका लागि प्रस्ताव पठाउन बंगलादेशले नेपाललाई पत्र पठाएको थियो । भारतको पावर ट्रेडिङ कम्पनी एनटीपीसी विद्युत् व्यापार निगममार्फत बंगलादेशसँग विद्युत् व्यापार हुनेछ ।