फागुन १२ ,बुटवल
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी भदौदेखि व्यवसायिक उडान हुने भएको छ । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा पारेर निर्माण भइरहेको विमानस्थलमा आगामी भदौ महिनादेखि व्यवसायिक उडान गर्ने लक्ष्यका साथ निर्माणकार्य भइरहेको आयोजना प्रमुख प्रवेश अधिकारीले बताउनु भयो।
आयोजना प्रमुख अधिकारीका अनुसार अहिले सम्म ६७ प्रतिशत निर्माण सकिएको छ । विमानस्थलको धावनमार्गको तेस्रो तहको कालोपत्र सकिएको छ । चौथो तहको कालोपत्र दुई दिनपछि सुरू हुँदैछ। कूल सात दशमलव पाँच इन्च मोटाइको चार तहको कालोपत्र सकिएपछि विमानस्थलको निर्माण करिब सकिने छ । बढीमा २० दिनभित्र चौथो चरणको कालोपत्र सकेर बत्ती व्यवस्थापन लगायत काम गर्ने सोचमा आयोजना लागेको छ ।
ट्याक्सी पार्किङस्थल पिच गर्न ठिक्क पारिएको छ । टर्मिनल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै कन्ट्रोल टावरको कामसमेत अन्तिम चरणमा पुग्न लागेको छ । दैनिक चार सयभन्दा बढी मजदूरले नियमित रूपमा काम गरिरहेका छन् ।
आयोजना प्रमुख अधिकारीका अनुसार अबको चार महिनामा अर्थात् आगामी असारमा विमानस्थल पूर्णरूपमा तयार हुन्छ। उडानका लागि केही प्राविधिक कामका लागि मात्रै थप समय लाग्न सक्ने देखिन्छ । विद्युतीय उपकरण जडान तथा अन्य प्राविधि तयारीको मात्रा १८ प्रतिशत पुगेको छ। यस्तै नियन्त्रणकक्ष तथा अन्य उपकरणको मात्रा १४ प्रतिशतको हाराहारीमा पुगेको छ । यी सबै काम तोकिएको समयमा पूरा हुने क्रममा छ ।
सरकारले पछिल्लो पटक थप रु चार अर्ब रकम आयोजनाका लागि उपलब्ध गराएको थियो । आयोजना विस्तारका लागि भन्दै अर्थ मन्त्रालयले रकमान्तर गरेर उक्त परिमाणको रकम मुआब्जाका लागि उपलब्ध गराएको हो । कूल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्ग पनि निर्माण भएको छ
हालै मात्र प्राधिकरणले नेपाल आयल निगमलाई साढे सात बिघा जग्गा हवाई इन्धन भण्डारणका लागि उपलब्ध गराएको छ । निगम प्रवक्ता वीरेन्द्र गोइतका अनुसार विमानस्थल सञ्चालन मा आउने तयारी भएपछि हवाई इन्धनका लागि उक्त जग्गा उपलब्ध गराइएको हो । आयोजनाको कूल लागत मूल्यअभिवृद्धि करसहित रु छ अर्ब २२ करोड ५१ लाख २० हजार ११८ छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१७ मा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरिएको थियो।यो बिमानस्थल सन १९५८ देखि सन्चालनमा अएको हो । सरकारले बारा, भैरहवा र पोखराको विमानस्थललाई राष्ट्रिय गौरवका आयोजनामा राखेको छ।