कपिलवस्तुमा पहिलोपटक निग्रोधराम उत्सव २०७५ आयोजना हुने भएको छ । २५ सय ६२ वर्ष अगाडि भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरि गृहनगर कपिलवस्तु फर्कदा भएको खुशियालीको क्षण अनुभुति गराउन निग्रोधराम उत्सव मनाउन लागिएको हो ।
कपिलवस्तु सदरमुकाम तौलिहवाबाट ३ किलोमिटरको दुरीमा रहेको कुदान क्षेत्रमा आगामी चैत्र ६ गतेबाट उत्सव मनाइने लुम्बिनी विकास कोषले जनाएको छ । उत्सव आयोजना क्षेत्र कुदानलाई बुद्ध धर्मग्रन्थ अनुसार निग्रोधारामको नामले समेत चिनिन्छ ।
फाल्गुण पुर्णिमाका दिन होली पर्व मनाइने हुँदा सोहि दिन खुशियाली साटासाट गर्नका लागी र ऐतिहासिक महत्वलाई झल्काउनका लागी पहिलोपटक निग्रोधराम उत्सव २०७५ आयोजना गर्न लागिएको लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य तथा उत्सव आयोजना समितीका संयोजक राजेश ज्ञवालीले बताउनुभयो ।
उत्सवको अवसरमा निग्रोधराम क्षेत्रमा दिप प्रज्जवलन, भिक्षुद्वारा पुजन, पुजापाठ, होली उत्साह साटासाट लगायतका कार्यक्रम तय गरिएको संयोजक ज्ञवालीले जानकारी दिनुभयो ।
भुपाल थापा, कपिलवस्तु