विद्यालयभन्दा बाहिर रहेका विद्यार्थीलाई पठनपाठनमा अभिप्रेरित गर्ने उद्देश्यले सरकारले आजदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । अभियानको नारा ‘हाम्रो सहर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऊँ’ तय गरिएको छ । केन्द्रीय नारामा स्थानीय सरकारले आफ्नो परिवेशअनुसार थपघट गर्न सक्ने छन् । १५ वर्षदेखि मुलुकमा विद्यार्थी भर्ना अभियान जारी छ ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको विद्यालय भर्ना अभियानका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय पु¥याउनका लागि अपिल गरेको छ । शिक्षा सचिव खगराज बरालले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना मात्रै होइन उनीहरूलाई टिकाइ राख्नका लागि पनि सरकारले विषेश योजना ल्याएको बताउनुभयो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहप्रवक्ता विष्णुप्रसाद मिश्रका अनुसार भर्ना अभियानका निम्ति मानव विकास सूचकाङ्कमा पछाडि रहेका १५ जिल्लालाई २० लाख रुपैयाँका दरले रकम दिइनेछ । अन्य जिल्लालाई भने ५० हजार रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई विद्यालय भर्ना अभियानलाई सफल गराउन निर्देशन दिएको छ ।
मन्त्रालयले वैशाख १५ गतेसम्म हरेक स्थानीय तहले विद्यालय र समुदाय केन्द्रीत विभिन्न कार्यक्रम गर्न र १५ गतेपछि वैशाख मसान्तसम्म लक्षित समूह केन्द्रीय विशेष घरदैलो अभियान सञ्चालन गर्न निर्देशन दिएको शिक्षा मन्त्रालयका उपसचिव विदुरराज गिरीले जानकारी दिनुभयो ।
मन्त्रालयले सबै स्थानीय तहलाई चार वर्ष उमेर पूरा गरेका सबै बालबालिकालाई प्रारम्भिक बालशिक्षा कक्षामा भर्ना गराउने साथै विद्यालय शिक्षा निरन्तर सिकाइको अवसर प्राप्त नगरेका विद्यालय उमेर समूहभन्दा बढी उमेर भएका प्रत्येक व्यक्तिलाई नियमित तथा वैकल्पिक सिकाइ अवसर प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
विशेष आवश्यकता भएका सबै किसिमका बालबालिकालाई उमेर अनुसार मिल्दो सिकाइ स्थल निःशुल्क भर्ना व्यवस्था मिलाउने समेत निर्देशन दिइएको छ । स्थानीय तहले कक्षा १ देखि १० सम्म सामुदायिक विद्यालयमा भर्ना हुने सबै बालबालिकालाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई रङ्गिन पुस्तक उपलब्ध गराउने गरी प्रभावकारी विवरण प्रणालीसहितको कार्ययोजना बनाई कार्यान्वयन गर्न समेत निर्देशन दिएको छ ।