काठमाडौं -संघीय संसदको प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची रहेको छ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेपछि छलफल सुरु हुने संसद सचिवालयका सहप्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
बैठकमा सांसदहरूबाट प्राप्त संशोधन समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ। नीति तथा कार्यक्रममाथि विपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र नेपाल मजदुर किसान पार्टीका तर्फबाट ६ वटा संशोधन दर्ता भएका छन्। छलफलमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदहरुले भने भाग नलिने भएका छन्।
शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा नेतृत्वले नीति तथा कार्यक्रममाथि छलफलमा भाग नलिन निर्देशन दिएपछि नेकपा सांसदहरूले आजको बैठकमा विपक्षीले पेश गरेको संशोधनमा ‘हुन्न’ भन्ने आवाज मात्रै दिने भएका हुन्।
नीति तथा कार्यक्रममाथिको छलफल तीन दिनका लागि तय गरिएको संसद सचिवालयका सहप्रवक्ता पाण्डेले जानकारी दिए।