रूपन्देही।
लुम्बिनी भ्रमण वर्ष उद्घाटन मूल समारोह भोली भए पनि प्रधानमन्त्री केपी शर्मा ओली आजै लुम्बिनी आइपुग्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओली आज लुम्विनी,तिलौराकोट दरबार क्षेत्रमा अवलोकन गर्न जानुहुने छ । प्रधानमन्त्री साँझ लुम्बिनीमै फर्केर दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ ।
बुद्धजयन्ती र लुम्विनी भ्रमण वर्ष उदघाटनको अघिल्लिो दिन आज लुम्विनीमा सुजाता खीर उत्सव हुदै छ ।
२५६३ औं बुद्ध जयन्ती र लुम्विनी भ्रमण बर्ष उदघाटनका अवसरमा लुम्विनीमा बिशेष तयारी गरीएको छ ।
बुद्धजयन्ती भोली मुल समारोह आयोजना गरी मनाइने भएपनि लुम्विनीमा आजदेखि नै बिशेष कार्यक्रमहरु हुदै छन । मायादेबि मन्दिरमा आजदेखि ३ दिनसम्म बिशेष पुजा गरीदै छ । यस पटकको बुद्ध जयन्तीका अवसरमा प्रदेश ५ को सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको पनि औपचारिक शुभारम्भ गरीदै छ ।
बुद्धजयन्तीका अवसरमा भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी भोली बिहान लुम्विनी आउनु हुने कार्यक्रम तय भएको छ ।
प्रदेश सरकारले लुम्बिनीमा ५२ फिट अग्लो पिल्लरमा राष्ट्रिय झण्डा बनाएको छ । साढे १८ लाख रुपैयाँ वजेटमा अग्लो राष्ट्रिय झण्डा बनाइएको र भोली त्यसको पनि उदघाटन गरीने छ। भोली नै लुम्विनीमा प्रधानमन्त्री ओलीले फलफुलका बिरुवा रोप्ने कार्यक्रम रहेको छ । जेठ ५ गते मायादेवी प्रसुति उत्सव मनाउने कार्यक्रम छ । यसका लागि देवदह र रामग्रामबाट दुई वटा टोली लुम्बिनी आउने छ । त्यसपछि लुम्बिनीबाट संयुक्त टोली बनेर मायादेवीको भेषमा एक महिलाले शिशु बुद्धको प्रतीक लिएर सयौंको संख्यामा बाजागाजा झाँकीसहित कपिलवस्तुतर्फ प्रस्थान गर्नेछ ।
तिलौराकोटबाट राजा शुद्धोधनको भेषमा सजिएका एक पुरुषसहित एउटा टोली सुत्केरीलाई उपहार लिएर आउने छ । दुबै टोलीको भेट कोठी नदीमा हुने छ । त्यहाँबाट संयुक्त टोली हर्ष बढाई गर्दै तिलौराकोट दरबार पुग्नेछ ।
साँझ दरबारमा मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा नाचगानसहित सांस्कृतिक कार्यक्रम गरी प्रसुति उत्सव समापन हुने कार्यक्रम रहेको छ।
लुम्विनी भ्रमण वर्ष वैशाख बुद्ध पूर्णिमाका दिन शुरू भई अर्को वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ ।