काठमाडौ,
असार २१ –
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले खोला तथा नदी किनारमा रहेका बालीनाली असार २८ गतेभित्रै थन्काइसक्न सबैमा अनुरोध गरेको छ ।
महाशाखाले शनिबार सूचना जारी गर्दै तटीय क्षेत्रमा उच्च सतर्कताका साथ निर्माणको काम गर्न र बालीनाली भए २८ गतेभित्रै थन्काउन अनुरोध गरेको हो ।
हाल नदी र खोलामा जलस्तर बढ्दो क्रममा रहेको र एक हप्तापछि बहाव उच्च हुने पूर्वानुमान महाशाखाले गरेको छ ।
शनिबारदेखि सोमबारसम्म प्रमुख र मझौला नदीमा बाढीको जोखिम न्यून रहेको जनाएको छ ।
मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर बदली भई पश्चिम र पूर्वी भागमा हल्कादेखि मध्यम खालको वर्षा हुने तथा एक दुई स्थानमा भारी वर्षा हुने अनुमान मौसमविदले गरेका छन् ।
यस्तो अवस्था सोमबारसम्मै रहने पूर्वानुमान गरिएको छ ।
आज मुलुकको पश्चिमी क्षेत्रका १÷२ स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमका धेरै र पूर्वी तथा मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद् शान्ति कँडेलले तत्काल अहिले पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भइरहेको र मध्य तथा पूर्वका क्षेत्रमा भने मौसम आङ्शिक रुपमा मात्र बदली भएको बताउनुभयो ।
मध्य र पूर्वी क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद् कँडेलले जानकारी दिनुभयो । विशेषगरी दिउँसो मौसम बदली अझ सक्रिय हुने पूर्वानुमान गरिएको छ ।
यसैबिच
समयमा पानी नपर्दा मुलुकभरमा रोपाइँ प्रभावित भएको छ ।
पानी नपरेपछि किसानका खेत बाँझै छन् भने राखिएको धानको बीउसमेत जोगाउन समस्या भएको छ ।
यस वर्ष असार २० गतेसम्म १५ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
वार्षिक नेपालमा १४ देखि १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।