सिन्धुली ,
असार २२ –
नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की प्रहरीको कुटाइबाट गम्भीर घाइते हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गयराति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन् ।
प्रहरीको कुटाइबाट घाइते भएका कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ ल्याईएको छ ।
गयराति सिन्धुलीको शिवनगरको एक होटलमा खाजा खाँदै गर्दा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत काभ्रे खावा–६ घर भएका ३० वर्षीय प्रहरी हबल्दार सनमसिं लामा र काभ्रे पनौती–७ बस्ने २८ वर्षीय प्रहरी जवान विकास स्याङतानले विनाकारण योजनाबद्ध तरिकाले कुटपिट गरेको वताईएको छ ।
अध्यक्ष कार्कीको टाउकोमा गम्भीर चोट लागेको सिन्धुली अस्पतालले जनाएको छ ।
पत्रकार महासङ्घ सिन्धुली शाखाका पूर्वअध्यक्ष मीनकुमार दाहालसँग कुरा गरिरहेका बेला प्रहरी हबल्दार सनम लामाले मोबाइलमा भिडियो कैद गरेको र भिडियो किन खिचेको डिलिट गर्नुस् भन्दा दुई प्रहरीले मोटरसाइकलको हेल्मेट लगायतका अन्य वस्तुले टाउकोमा हिर्काइ भागेको मीनकुमार दाहालले बताउनु भएको छ ।
नेपाल पत्रकार महासङ्घले घटनाको विरोध गर्दै घाइतेको उपचार र दोषीलाई कानूनी कारवाही गर्न माग गरेको छ ।
यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राति नै पत्रकारले कार्यालय घेराउ गरेपछि प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दुवै प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान गरेर दोषी भए कारवाही गर्ने बताए ।
घाइतेको उपचार व्यवस्था मिलाउने प्रतिबद्धता समेत उनले जनाएका छन् ।