काठमाडौ
भदौ २ –
देशको अधिकांश स्थानमा अहिले मौसम बदली भइ वर्षा भइरहेकोे छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केहि स्थान र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुने जनाएको छ । महाशाखाले जारी गरेको बुलेटिनमा पश्चिमका तराई र पहाडी भूभागमा मेघ गर्जन र चट्याङ्गसहितको वर्षा गराउने प्रणाली सक्रिय भइ दाङ, कपिलवस्तु तथा यसका आसपासका स्थानहरुमा मेघ गर्जनसहित वर्षा झन् सक्रिय हुँदै गएको जनाइएको छ ।
आगामी बुधबारसम्म मौसम सामान्यतया बदली रहने जनाउँदै मौसम पूर्वानुमान महाशाखाले अबका २४ घण्टामा मेघगर्जन र चट्याङ्गबाट जोगिन सबैमा आग्रह गरेको छ ।
महाशाखाले देशको पश्चिम तथा मध्य भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र त्यसले चुरेबाट बहने खोलाहरुमा आकस्मिक नदीको वहावमा बृद्धि हुन सक्ने साथै सडक यातायातमा पहिरो र भूक्षयका कारण अवरोध आउन सक्ने भएकोले ती भूभागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।
उता बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा आज पश्चिम राप्ती र बबईमा वहाव बढ्ने जनाइएको छ । त्यसैगरी आज गुल्मी, अर्घाखाँची पाल्पा, बागलुङ्ग, रुपन्देही, कपिलवस्तु, दाङ्ग, तनहुँ, चितवन, नवलपरासी, , रोल्पा, सल्यान भइ बहने नदीमा आकस्मिक वहाव हुन सक्ने जनाएको छ ।
महाशाखाले सतर्कता अपनाउन तथा प्रदेश ५ को चुरे र तराई भूभागको राजमार्गमा साना खोला पार गर्दा सतर्क रहन समृत आग्रह गरेको छ ।
यस्तै महाकाली नदीमा पानीको बहाव बढेको छ । चुरेलगायत कञ्चनपुरमा भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो । सोमबार बिहानको पछिल्लो मापन अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ३८ हजार क्यूसेक पुगेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ । नदीमा पानीको बहाव बढेसँगै भारतीय पक्षले महाकाली पुल ९शारदा ब्यारेज० मा चारपाङ्ग्रे्रे सवारीसाधानको आवागमनमा रोक लगाएको छ ।
यस्तै रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आउँदा टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीहरुको जनजिवन प्रभावित भएको छ । चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीको जनजिवन तनाबग्रस्त बनाएको हो ।
राती नौ बजेबाट खोलाको बहाब एक्कासी बढेकाले रसुवागढीको जलविद्युत आयोजनाले खतराको साईरन बजाएको थियो ।