कमल पौडेल
१६, असोज
गुल्मीको मुसिकोट नगरपालिकाले उद्यमशिलता विकास गरि उद्यमी तयार गर्ने योजना अगाडि बढाएको छ।
नगरपालिका भित्रका युवाहरु बाट उद्यमी तयार गरि उनिहरु मार्फत सयौंको संख्यामा रोजगारी सिर्जना गर्ने योजना सहित काम सुरु गरिएको छ।
जस अन्तरगत बुधवार उद्यमशिलतामा काम गरिरहेको ‘दायित्व’ नामक गैरसरकारी संस्था संग ३ वर्षको लागि नगरपालिकाले सम्झौता गरेको हो।
युवा तथा महिला आर्थिक सबलीकरणबाट उद्यमशील मुसिकोट निर्माण गर्ने दुरदृष्टी प्राप्तिको लागि ‘दायित्व’ संग सम्झौता गरिएको नगरपालिकाले जनाएको छ।
सम्झौता अनुसार युवा रोजगारी, युवा उद्यमशीलता, महिलाहरुको आर्थिक सबलिकरण, मूल्य श्रृंखला र लगानीमा पहुँच लगाएतका पक्षमा ‘दायित्व’ले फेलोशिप लगाएत कार्यक्रम मार्फत सहयोग गर्ने वताइएको छ।
त्यस्तै तथ्यमा आधारित नितिगत पैरवि गर्ने, उद्यमशीलता र रोजगारी प्रवद्र्धनमा ध्यान दिने, नेतृत्व तथा व्यावस्थापन वृद्धि प्रशिक्षण कार्यक्रम संचालन गरि उद्यमी तयार गर्ने गरि सम्झौता भएको हो।
जस अन्तरगत उद्यम गर्न इच्छुक १०० जना युवा, महिला बाट ५० हुँदै २५ जना छनौट गर्ने, ति छानीएका युवालाई विनाधितो ऋण र अनुदान उपलब्ध गराउने, २ वर्ष सम्म निरन्तर आवश्यक सवै सहयोग गरि सफल उद्यमी बनाउने योजना रहेको नगरपालिकाका आर्थिक समितिका संयोजक तथा वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभएको छ। काफ्लेका अनुसार ति उद्यमीले गरेको उत्पादनको वजार ग्यारेन्टी गर्ने र स्थानिय रुपमा उद्यमी मार्फत रोजगारी सिर्जना गर्ने योजना तय गरिएको छ।
सो सम्झौतामा मुसिकोट नगरपालिकाको तर्फवाट प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारी र ‘दायित्व’को तर्फवाट अध्यक्ष डा. पुकार मल्लले हस्ताक्षर गर्नुभएको छ भने साक्षिको रुपमा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा रहनुभएको छ।
‘दायीत्व’ संग सम्झौता गरिएको र यो योजनाले मुसिकोट नगरपालिकाको लगानीमा ग्रामिण उद्यम द्रुतिकरण गर्ने मेयर सोमनाथ सापकोटाले विश्वास व्यक्त गर्नुभएको छ।
कृषि, पर्यटन र पूर्वाधार विकासबाट मुसिकोटको विकासको आधार तयार हुने भन्दै मेयर सापकोटाले आम नागरिकको जिवन परिवर्तन हुनुपर्छ भन्ने नगरपालिकाको चाहना रहेको बताउनुभएको छ।
संस्थाले एक महिना भित्र मुसिकोट नगरपालिकाको सम्भावनाको विषयमा अध्ययन गर्ने र वाँकी कार्यक्रम तय गर्ने बताइएको छ। उद्यमशिलताको विकास पछि बैदेशिक निर्भरता घटाउन समेत सहयोग पुग्ने विश्वास नगरपालिकाले गरेको छ।