२१ पुष
पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा रहेका प्रयोगशालामा थप चार हजार ५५१ पिसिआर परीक्षण गर्दा ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ५७ हजार ४४५ जनाको पिसिआर परीक्षण गरिएको छ। आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २३२ जना रहेका छन्। जसमा महिला ९३ छन र पुरुष एक सय ३९ जना छन्। मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६२ हजार ७८४ जना छन्। जसमध्ये सक्रिय संक्रमित पाँच हजार २२५ छन्। बितेको २४ घण्टामा थप आठजना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १ हजार ८९३ जना पुगेको छ।पछिल्लो पटक ५७८ संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ५५ हजार ६६६ जना संक्रमणमुक्त भएका छन्। निको हुनेको दर ९७ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टाइनमा रहनेको संख्या ३४२ छ।