१८ चैत,तम्घास- गुल्मी जिल्लाको सदरमुकाम तम्घास स्थित लाँकुरी मञ्चमा नेपाल मजदुर किसान पार्टीको पुस्तक प्रदर्शनी सम्पन्न भएको छ ।
पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा देशव्यापी पुस्तक प्रदर्शनी गर्ने अभियान अन्तर्गत उक्त प्रदर्शनी आयोजना गरिएको हो । कार्यक्रममा पार्टीले आफ्नो स्थापनाकालदेखि प्रकाशित गरेका सैद्धान्तिक, राजनीतिक, सांस्कृतिक र विश्व कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित झण्डै ६० पुस्तक एवं पत्रपत्रिकाहरुको प्रदर्शन र बिक्री वितरण भएको थियो । पार्टी अध्यक्ष नारायणमान बिजुक्छें लिखित नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएका खोटा विचारहरुको खण्डन, रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन, समाजवाद र सान्दर्भिक विषयवस्तु लगायतका पुस्तकहरुको बिक्री भएको थियो । कार्यक्रममा स्थानीय युवा, विद्यार्थी, शिक्षक, मजदुर तथा बुद्धिजीवीहरु सहभागी भएका थिए । यस्ता प्रदर्शनीहरु नियमित रुपमा गर्नुपर्ने पाठकहरुको राय छ । तम्घासबाट सुरु भएको प्रदर्शनी अर्घाखाँची, प्युठान हुँदै दाङ गएर समापन हुने आयोजक समितिले जनाएको छ ।