जेठ-३१,२०७९
प्यूठान ।कम्युनिष्टहरुको वलियो प्रभाव रहेको प्यूठान जिल्लामा नेपाली कांग्रेसले आफ्नो प्रभाव क्षेत्र विस्तार गर्दै लगेको छ ।
हालै सम्पन्न स्थानीय तह चुनावमा कांग्रेसले प्यूठानमा ऐतिहासिक जित हात पारेको थियो ।
जिल्ला समन्वय समितिको नेतृत्वमा पहिलो पटक नेपाली कांग्रेसले पाएको छ ।
कांग्रेस नेता धरम बहादुर जिसी निर्विरोध जि.स.स प्रमुखमा निर्वाचित हुनु भएको छ । जि.ज.स चुनावमा कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर उम्मेदवारी दिएका थिए ।
हार निश्चित भए पछि नेकपा एमालेले उम्मेदवारी समेत दिएन । तशर्थ सबै गठवन्धनका उम्मेदवार नै निर्विरोध निर्वाचित भएका हुन्।
जि.स.समा कांग्रेसले प्रमुख सहित र १ सदस्य र नेकपा माओवादी केन्द्रले उप–प्रमुख सहित २ सदस्य पाएको छ ।
उता राष्ट्रिय जनमोर्चाले भने ४ जना सदस्य पाएको छ ।उप–प्रमुखमा माओवादीका दुर्गा रेग्मी निर्विरोध निर्वाचित हुनु भएको छ ।
कांग्रेस बाट टोपाराम कालाथोकी, माओवादीबाट तारा बिक, निर्मला पोख्रेल र राष्ट्रिय जनमोर्चाबाट गुणेन्द्र बस्नेत, इन्द्र बहादुर खड्का, खुमा अधिकारी तथा रेकम रसाइली निर्वाचित हुनु भयो ।
पार्टी सभापति विष्णु गिरी र क्षेत्रीय सभापति रोज राणा कांग्रेसलाई जिताउन महिनौं देखि सक्रिय भएर लाग्नु भएको थियो ।
पार्टीका केन्द्रीय सभापतिको निर्देशन अनुसार काम गर्दा प्यूठानमा नेपाली कांग्रेसले सफलता हात पारेको क्षेत्रीय सभापति राणाको भनाइ छ ।