आसन ग्रहण र भाषण बिनै कांग्रेसले देशका सबै वडामा “समुदायमा कांग्रेस” अभियान चलाउने
माघ १०
नेपाली कांग्रेसले देशै भरिका वडामा पुगेर जनताका कुरा सुन्ने ‘समुदायमा कांग्रेस’ अभियान घोषणा गरेको छ ।
पार्टीको यसअघिकै निर्णयबमोजिम केन्द्रीय कार्यालयले पहिलो चरणमा माघ १३ देखि २६ गतेसम्म अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।
केन्द्रीय कार्यसमितिले सञ्चालन गर्न लागेको अभियानअन्तर्गत ७ प्रदेश, ७७ वटै जिल्ला, ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडामा प्रतिनिधि खटिँदैछन् । पार्टीका केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू समेत गाउँ–गाउँ पुग्ने र जनताका समस्या, गुनासा र सुझाव सुन्ने कार्यक्रम तय भएका छन् ।
अभियानका क्रममा कांग्रेसले तीनै तहका सरकारसँगका जनताका अपेक्षा, सुझाव र गुनासो सुन्ने बताईएको छ । पार्टी सरकारमा रहेका ठाउँमा सरकारको नीति कार्यक्रममा समावेश गरी कार्यान्वयनमा अग्रसरता लिने र प्रतिपक्षमा रहेका ठाउँमा समाधानका लागि पहलकदमी लिने बताईएको छ ।
अभियानका लागि प्रत्येक प्रदेशमा केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी वा पार्टीका नेताले अभियानको प्रादेशिक समन्वय गर्ने र संयोजन गर्नेछन् भने जिल्लाका लागि केन्द्रीय सदस्यहरूलाई परिचालन गर्ने तयारी छ । अभियानअन्तर्गत माघ १३ र १४ गते सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगेर जिल्ला कार्यसमितिको विस्तारित बैठक बसाउने कार्यसूची छ भने अभियानको प्रारूप, उद्देश्य र कार्यक्रमका विषयमा छलफल गर्ने र प्रतिनिधि तोक्न परिपत्र गरिएको छ ।
वडास्तरमा माघ १६ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् भने माघ २६ गते सुशील कोइराला स्मृति दिवसका दिन सबै जिल्लामा अभियानको पहिलो चरणको समापन हुनेछ ।
अभियानका क्रममा हुने कार्यक्रममा आसन ग्रहण र भाषणका कार्यक्रम नहुने कांग्रेसको भनाइ छ । कांग्रेसले यही अभियान यसअघि पुसमै सञ्चालन गर्ने भने पनि राष्ट्रिय सभा निर्वाचनलाई कारण देखाएर सभापति शेरबहादुर देउवाले स्थगित गर्न रुलिङ गरेका थिए । केन्द्रीय समिति बैठकले निर्वाचनपछि अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।