प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बुधबार दिउँसो थाइल्याण्डको राजधानी बैङ्कक प्रस्थान गर्नुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास ९बिमस्टेक०को तेस्रो सुरक्षा अधिकारीको बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिको नेतृत्व गर्दै उहाँ बैङ्कक प्रस्थान गर्नुभएको हो ।
आगामी बिहीबार र शुक्रबार हुने बैठकमा सहभागी हुन उहाँसँगै सशस्त्र प्रहरी नायब महानिरीक्षक खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत सोमेश थापा लगायत जानुभएको छ ।
बैठकमा सदस्य राष्ट्रका सुरक्षा अधिकारीबीच आतङ्कवाद, लागूऔषध, हातहतियार, मानव बेचबिखनजस्ता अपराध नियन्त्रण तथा सार्वजनिक सुरक्षाका विषयमा छलफल हुने जनाइएको छ ।
प्रहरी महानिरीक्षक खनाल सहितको टोली यही चैत ९ गते स्वदेश फर्कने कार्यक्रम छ । नेपालसहित थाइल्याण्ड, भुटान, भारत, बङ्गलादेश, श्रीलङ्का र म्यान्मार बिमस्टेकका सदस्य राष्ट्र हुन् ।