७ चैत, २०७५
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज कुवेतसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।कुवेतमा हुने खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । स्वीडेनका योहान कालिनले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण समालेपछि नेपालको यो पहिलो खेल हो ।
नेपाली राष्ट्रिय फुटबल टोली दुई वटा मैत्रीपूर्ण खेलका लागि कुवेत पुगेको हो । दोस्रो खेल आगामी मंगलबार हुनेछ । नेपाली सिनियर टोलीका आधा दर्जन खेलाडी अहिले युथ–२३ प्रतियोगिता खेल्न कतार पुगेका छन् । यसले राष्ट्रिय टोलीको खेलाडी छनोटलाई केही सिमित पारिदिएको छ ।
नेपाल र कुवेत १९ बर्षपछि खेल्न लागेका हुन । यसअघि सन् २००० मा भएको एएफसी एसिया कपमा नेपाललाई कुवेतले ५–० ले हराएको थियो ।
कुवेतसँग नेपाली फुटबलको निकै पुरानो साईनो छ । नेपाली खेलाडीले गरेको पहिलो अन्तर्राष्ट्रिय गोल कुवेत विरुद्धकै थियो ।सन् १९८२ मा वाइबी घलेले कुवेत विरुद्ध गरेको गोल नै नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल हो । त्यसपछि भने नेपालले कुवेत विरुद्ध गोल गर्न सकेको छैन ।