नेपालमा विदेशी फिल्मको दबदबा भर्खर-भर्खर सुरु भएको होइन । दुई दशक अगाडिदेखि विदेशी फिल्मले नेपालमा आफ्नो वर्चश्व कायम गरिरहेको छ । अझै यो वर्चश्व तोडिने संकेत समेत देखिएको छैन । घरेलु दर्शकहरु पनि नेपाली फिल्म भनेपछि नाक खुम्च्याउन अझै छाडेका छैनन् । तर, विदेशी फिल्मको टिकट भने हारालुछ नै हुन्छ । नामको मात्र फिल्म बन्ने क्रम बढ्नुले नै घरेलु दर्शक नेपाली फिल्मदेखि भड्किरहेको कतिपयको जिकिर छ ।
तर, दशक अगाडि फर्किने हो भने हलिउड र बलिउड फिल्मको दबदबाका बीच पनि नेपाली फिल्म हेर्ने दर्शक कम थिएनन् । निर्माण भएका प्रायः अधिकांश फिल्मले हलमा प्रदर्शनको ५१औँ र सय दिन सजिलै मनाउथे । अहिले हप्ता दिन हलमा टिक्न पनि गाह्रो छ । प्रविधिमा नेपाली फिल्मले ठूलो फड्को मारेता पनि गुणस्तरिय फिल्म बन्ने क्रम भने दिनप्रतिदिन खस्किँदै गएको चर्चा सिनेवृतमा केही वर्षयता चल्दै आएको छ ।
मौलिक कथा पस्किनेभन्दा विदेशी फिल्मबाट चोरचार गरेर दर्शकलाई मुर्गा बनाउने प्रवृति फस्टाउनुले पनि नेपाली फिल्मले स्वदेशी दर्शककै साथ विस्तारै गुमाउँदै गएको फिल्म क्षेत्रका जानकारहरुको बुझाइ छ । उता विदेशी फिल्मले भने आफ्नो बजार नेपालमा झनै फकाकिलो बनाइरहेको छ । नेपाली फिल्मको व्यापार दिनानुदिन ओरालो लाग्न रोकिएको छैन, तर यही बजारबाट हलिउड/बलिउडका फिल्मले भने करोडौं छापिरहेका छन् ।
‘छक्का पञ्जा’ सिरिजका निर्माता तथा अभिनेता दीपकराज गिरी प्रायः भनिरहेका हुन्छन्, ‘अब नेपाली फिल्म विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न लायकको भइसकेको छ ।’ अर्का चतुर निर्माता भुवन केसी पनि पटक-पटक भन्ने गर्छन्, ‘हाम्रो प्रतिस्पर्धा नेपाली फिल्मसँग होइन विदेशी फिल्मसँग हो ।’ तर, बोलीले मात्र नेपाली फिल्मले विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्ने होइन । प्रतिस्पर्धा गर्नका लागि पहिला प्रतिस्पर्धा गर्न लायकका फिल्म बन्न जरुरी छ ।
एउटै डेटमा नेपाली फिल्म र विदेशी (बलिउड र हलिउड) फिल्म रिलिज हुँदा किन नेपाली दर्शकको पहिलो रोजाई विदेशी फिल्म नै हुने गर्दछ ? आखिर हामी कहाँ चुकिरहेका छौं ? फिल्मकर्मीहरुले अनुसन्धान गर्न अत्यन्त आवश्यक छ । यहाँ अचेल दर्शकको भोक बुझेर फिल्म बनाउने भन्दा मुर्गा हातबाट उम्किने डरले छेउ न टुप्पाका फिल्महरुको बाढी लागेको छ । यसले नेपाली फिल्मको बजारमा दिर्घकालिन असर त पुग्छ नै विदेशी फिल्मलाई झनै प्रसय मिल्नेछ ।
नेपाली फिल्महरु कतिसम्म कमजोर हुन्छन् भन्ने उदाहरण थाहा पाउन धेरै गहिराइमा जानै पर्दैन । प्रदर्शनका लागि घोषणा गरेको डेटमा विदेशी फिल्म आएपछि कुलेलाम ठोक्ने नेपाली फिल्मको हविगत हेर्दा नै प्रष्ट हुन्छ । तात्ताता उदाहरण हुन् ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ । यी दुई फिल्मले घोषणा गरेको प्रदर्शन मितिमा विदेशी फिल्म आउने भएपछि रातारात तित्तरवित्तर भए । अर्थात् दुबैले प्रदर्शन मिति छाडे ।
पहिला ‘दाल भात तरकारी’ बैशाख १३ मा आउने तय भएको थियो । हालै उक्त मितिमा हलिउड फिल्म ‘एभेन्जरः इन्ड गेम’ आउने पक्का भयो । यो विश्वमै फिल्मप्रेमी दर्शकले प्रतिक्षा गरेको फिल्म मध्येको एक हो । यसले नेपालका मल्टिप्लेक्सहरु पूरै कब्जा गर्ने भएपछि ‘दाल भात तरकारी’ सेफ ल्यान्डिङ खोज्दै एक हप्ता पछाडि सरेर बैशाख २० मा पुगेको छ । यो फिल्म एक हप्ता पछाडि सर्ने वितिक्कै केही फिल्मको रिलिज नै बिग्रियो ।
सो फिल्मलाई दुई हप्ता एक्लै छाड्दै ‘जात्रै जात्रा’ ले बैशाख २७ मा आउने निधो गरेको थियो । तर, हलिउड फिल्मको डरले ‘दाल भात तरकारी’ एक हप्ता पछाडि सर्यो । दर्शकले अत्याधिक प्रतिक्षा गरेको र देशका मुर्धन्य व्यक्तिले बनाएको फिल्म भएका कारण दुई हप्ता एक्लै छाड्नु पर्छ भन्दै ‘जात्रै जात्रा’ पनि एक हप्ता पछाडि परेर जेठ ३ मा पुगेको छ । तर, यो फिल्म बैशाख २७ बाट सर्नुको कारण ‘दात भात तरकारी’ एउटा बहाना मात्र हो ।
उक्त फिल्मले रिलिज डेट घोषणा गर्दा बैशाख २७ मा कुन विदेशी फिल्म आउँदैछ भन्ने निर्माण टिमले खोज्न आवश्यक नै ठानेन । जब थाहा भयो उक्त डेटमा बलिउडको प्रतिक्षीत फिल्म ‘स्टुडेन्ट अफ दि इयर २’ रिलिज हुँदैछ अनि ‘जात्रै जात्रा’ को होस उड्यो । एकातिर ‘दाल भात तरकारी’ ले थिच्ने डर अनि अर्कोतिर ठूलो बलिउड फिल्म, ‘जात्रै जात्रा’ ले जोखिम मोल्न चाहेन । अन्ततः जेठ ३ मा घरकै फिल्म ‘वीरविक्रम २’ सँग भिड्न तयार भयो ।
आइतबार फिल्मको पहिलो गीत ‘माया पिरिम’ सार्वजनिक कार्यक्रममा कार्यकारी निर्माता रबिन्द्र सिंह बनियाँले ‘दाल भात तरकारी’ जस्तो राम्रो फिल्मलाई दुई हप्ता चाहिन्छ भनेर आफूहरु एक हप्ता पछाडि सरेको बताए । ‘गुरुहरुको खुट्टा लाग्छ भनेर हामीले हल्का खुट्टा सारेका मात्र हौं’, उनले भने । तर, उनले बलिउड फिल्मको डरले फिल्म सारेको वास्तविकता लुकाएर पत्यार नै नलाग्ने बहाना अगाडि सार्दै आफूलाई ओभानो बनाउने प्रयास गरे ।
स्वेदशी फिल्महरु आफ्नै बजारमा विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न आँट जुटाउन नसकिरहेको अवस्थामा केही मेकर्सले विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न नेपाली फिल्म योग्य छ भन्दै घोक्रो सुकाउनुको कुनै सार्थकता छैन । ठूला भनिएका नेपाली फिल्मकै विदेशी फिल्म भनेपछि होसहवास उड्छ भने साना बजेट र नयाँ अनुहार लिएर फिल्म बनाएका निर्माताको हालत त झन् के होला ? आखिर कहिलेसम्म विदेशी फिल्मको डरले भागिरहने, निर्माताज्यू ?