युवा उमेरमै ज्योतिष विधामा लोभलाग्दो सफलता चुमेका हरिहर अधिकारी चिना र हात हेरेकै भरमा भुत र भविष्य खरर बताउन सक्छन् । उनको भविष्यवाणीलाई धेरैले विश्वास गर्छन् । उनलाई चिना र हात हेराएर आफ्नो भविष्य जान्न र बुझ्न चाहने सर्वसाधारण मात्र होेइन फिल्मकर्मीहरु पनि कम छैनन् । उनले थुप्रै फिल्मको नाम जुराइदिनेदेखि प्रदर्शनका लागि शुभ मिति समेत जुराइदिएका छन् ।
दिनमा ६० भन्दा बढी व्यक्तिको भविष्य बताउँदै उनीहरुको वास्तविक कथाव्यथा सुन्दासुन्दै उनको दिमागमा फिल्मका लागि एउटा कथा जन्मियो । निर्देशक सन्तोष बाबु लोहनीसँग एक चियागफमा उनले आफ्नो दिमागमा उकुसमुकुस भएर बसेको कथाको कन्सेप्ट सुनाए । निर्देशक लोहनीलाई ‘एक्स्ट्रा’ लाग्यो । उनले उक्त कन्सेप्टमा फिल्म बनाउने वचन दिए । अभिमन्यू निरवीले हरिहरको कथालाई मूर्तरुप दिए ।
कथा तयार भएपछि फिल्म बन्ने औपचारिक प्रक्रिया सुरु भयो । निर्माता प्रदीप कुमार उदय फिल्म बनाउन तयार भए । निर्देशन सन्तोष बाबुले गर्ने भए । फिल्मको कथा ज्योतिषकै भएका कारण निर्देशक लोहनीले हिरोमा हरिहरभन्दा बाहेक अरु देखेनन् । अन्ततः उनले पनि फिल्म गर्ने निर्णय लिए । उनैले ज्योतिषशास्त्र अनुसार फिल्मको नाम जुराए, ‘शुभ लभ’ । उनको अपोजिटमा क्रिस्टिन पौडेल अनुबन्ध भइन् । यो फिल्म अब प्रदर्शनको संघारमा छ । यही चैत १५ मा फिल्म रिलिज हुँदैछ । फिल्मको टाइटल गीतले लोकप्रियता हासिल गरिसकेको छ । ट्रेलरलाई पनि निकै रुचाइएको छ । चिना र हात हेरेर धेरैको भविष्य बताएका हरिहर अब आफ्नै भाग्य परिक्षा गर्ने कुर्सीमा बसेका छन् । यो फिल्म उनका लागि कुनै हालतमा सफल हुनु पर्नेछ, नभए उनीप्रतिको विश्वासमा धेरैले प्रश्न उठाउन सक्नेछन् ।
तर, फिल्मको सफलता र असफलताले आफ्नो करिअरमा असर नगर्ने उनको तर्क छ । उनी भन्छन्, ‘मैले ६ महिनादेखि अफिस बन्द गरेर फिल्मका लागि भनेर हिँडेको छु । चिना र हात राम्रोसँग हेर्न पाएको छैन’, एक भेटमा पत्रकारसँग उनले भने- ‘हिट र फ्लप भन्दा पनि फिल्म हेर्न आउनुभएको दर्शकले रुचाइदिनु भयो भने म त्यसलाई सफल मान्छु । राम्रो कमाउनु मात्र सफलता होइन ।’
पहिलो फिल्ममा ज्योतिषकै भूमिका गर्नुलाई उनी आफू ‘सेफ साइड’ खोजेको स्वीकार गर्छन् । ‘यसले मेरो प्रोफेसनलाई असर गर्दैन । फिल्ममा ज्योतिषलाई कुनै नराम्रो बनाइएको छैन । त्यो क्यारेक्टर हो, उसको प्रोफेसन ज्योतिष हो । उसले विशुद्ध अभिनय गर्छ । यो फिल्म मलाई चिना हेराउन आउनेलाई मनपर्छ । अरुका लागि नयाँ लाग्छ भन्ने सोचेर नै गरेको हुँ’, उनले भने ।
फिल्मलाई दर्शकले नरुचाए पनि आफू स्वीकार गर्न तयार रहेको बताउँछन्, उनी । राम्रो स्क्रिप्टबाट अफर आए आगामी दिनमा पनि फिल्म गर्ने उनको सोच छ । उनी भन्छन्, ‘म कहिले पनि प्रि-प्लान गर्दिनँ । कहिल्यै म पनि प्लान गरेर हिँड्दिनँ र काम गर्दिनँ । जे गर्ने हो स्पोटमै गर्ने हो । भोली कसैसँग भेट भएर राम्रो चिज हुन्छ भन्ने लाग्यो भने अवश्य गर्छु ।’ ‘शुभ लभ’ को लभस्टोरी भयानक रहेको उनको भनाई छ । तपाईंको आफ्नै लभस्टोरीमा आधारित त होइन फिल्म ? पत्रकारको जिज्ञासामा उनले आफ्नो रियल लभस्टोरीमा फिल्म नबनेको बताए । फिल्मको गीत र ट्रेलर रिलिज भएपछि उनको हाइटलाई लिएर थुप्रै कमेन्ट आएका छन् । हाइटलाई लिएर भएको टिप्पणीमा उनी भन्छन्, ‘मलाई फिल्म गर्नुभन्दा अगाडि नै यो कुरा आउँछ भन्ने थाहा थियो । त्यसैले कुनै चित्तदुखाई छैन ।’