हावाहुरीले चितवनका अधिकांश स्थानमा विद्युत सेवा अवरुद्ध गुल्मीमा पनि मौसममा बदलि ।
बिहान परेको पानीसँगै आएको हावाहुरीले चितवनका अधिकांश स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ। भतरपुर–बाइपास सडकखण्डको जिल्ला प्रसाशन कार्यालय अगाडि रुख ढल्दा बिजुलीको पोलमा क्षति पुगेको छ। विजुलीको तार भुइँमा लत्रिएको छ। रुखले जिल्ला प्रशासन कार्यालय अगाडि रहेको तीन वटा सर्किट भएको विद्युत पोलमा क्षति पुर्याएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको हो। मर्मतका लागि करिब ६÷७ घण्टा लाग्ने केन्द्रका फिल्ड सुपरभाइजर ओमनाथ अधिकारीले जानकारी दिए। जिल्लाका अन्य स्थानमा पनि हावाहुरीले क्षति पुगेकाले विद्युत सहज हुन आज दिनभर लाग्न सक्ने उनको भनाइ छ । विद्युत अवरुद्ध हुँदा मुख्य बजार भरतपुर क्षेत्र, पश्चिम चितवनलगायत विभिन्न स्थानका उपभोक्ता प्रत्यक्ष प्रभावित भएका छन्। सडक अवरुद्ध यस्तै, रुख ढल्दा बाइपास सडकखण्ड अवरुद्ध भएको छ। बिहान ४ बजेको समयमा आएको हावाहुरीले जिल्ला प्रशासन कार्यलय अगाडीको ठूलो रुख सडकतर्फ ढल्दा बाटो अवरुद्ध भएको हो।
रुख पन्छाएर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। रुख ढल्दा सडक छेउमा पार्किङ गरिराखेको ना ४ ख ८१७२ नम्बरको ट्रकमा क्षति पुगेको छ। रुखले ट्रकको पछिल्लो भागमा किचेको छ। सवारीसाधान बैकल्पिक बाटोबाट सञ्चालन भइरहेका छन्। बिहान करिव ४ बजेको समयमा पानीसँगै करिव आधा घण्टा हावाहुरी चलेको थियो। आज बिहानै देखि गुल्मीमा पनि मौसममा बदलि भएको छ । जिल्लाको कतिपय स्थानमा छिटपुट पानी परेको छ ।