सुर्तीजन्य पदार्थको सेवनका कारण हरेक वर्ष नेपालमा कम्तीमा १५ हजारले ज्यान गुमाउने गरेका छन्। सुर्तीजन्य पदार्थको सेवनकै कारण क्यान्सर, दीर्घ श्वासप्रश्वास, मुटुरोग र मधुमेह जस्ता नसर्ने रोगको दर बढिरहेको छ।
सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कमी ल्याउन सरकारले सार्वजनिक स्थलमा सेवन र बिक्री वितरणमा समेत रोक लगायो तर सार्वजनिक ठाउँमा अहिले पनि सुर्तीजन्य पदार्थको धमाधम सेवन र बिक्री वितरण भइरहेको छ।
नेपालमा सरकारले खुद्रा पसलबाट सुर्तीजन्य पदार्थको बिक्री वितरण रोकेको लामो समय भयो। चुरोट, सुर्तीलगायतका सुर्तीजन्य पदार्थ बेच्नका लागि आन्तरिक राजश्व कार्यालयबाट छुट्टै अनुमति लिनुपर्ने हुन्छ। ऐनअनुसार १८ वर्ष नपुगेका व्यक्तिले सुर्तीजन्य पदार्थ खरिद बिक्री गर्न पाउँदैनन्।
गर्भवती महिलाले पनि खरिद बिक्री गर्न कानुनले रोकेको छ। सार्वजनिक स्थलमा सेवन गरेमा एक सय रुपैयाँ जरिवानाको व्यवस्था छ। सरकारले भने पहिलेको तुलनामा सार्वजनिक स्थलमा धूमपान गर्नेको संख्या घटेको दाबी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले पहिलेको तुलनामा सार्वजनिक स्थानमा धूमपान गर्नेहरू घटेको बताउँछन्। सार्वजनिक स्थानमा धूमपान गर्नेको संख्या शून्यमा झार्न सरकारले विभिन्न कार्यक्रमहरू ल्याउने तयारी गरेको जनाएको छ।
सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीसाधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथलय, क्लब, सार्वजनिक शौचालयलगायत थुप्रै सार्वजनिकस्थलमा धूमपान गर्न नपाइने भनिए पनि नियम उल्लंघन भएको सर्वसाधारणको गुनासो छ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा झण्डै १५ प्रतिशत महिलाले धूमपान गर्छन्। सुर्तीजन्य पदार्थको सेवनमा पुरुष अघि छन्। नेपालको जनसंख्याको झण्डै ३१ प्रतिशतले धूमपान वा सुर्तीजन्य पदार्थको सेवन गर्छन्। झण्डै ३६ प्रतिशत नागरिक अरूले सेवन गरेको चुरोट वा अन्य सुर्तीजन्य पदार्थको सेवनबाट समस्यामा पर्ने गरेका छन्।