काठमाडौँमा लगानी सम्मेलन शुरु भएको छ । सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डल लगायत ६०० बढी लगानीकर्ताको सहभागिता रहेको छ । यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको उल्लेख्य सहभागिता छ ।
काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा शुरु भएको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।
सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखिने जनाएको छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्थासमेत चुस्त बनाइएको छ ।
नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरुप दिन र दिगो लक्ष्य हासिल गर्ने सन्दर्भमा सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।
सरकारले सम्मेलनमार्फत विश्वलाई नयाँ नेपाल निर्माणको सन्देश दिन चाहेको छ । प्रशस्त प्राकृतिक स्रोतसाधन र उद्योगधन्दाका लागि उपयुक्त वातावरण बनेकाले नेपालमा विदेशी लगानीकर्ता आकर्षित हुने अपेक्षा गरिएको छ ।