राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले निर्माण गराएका भौतिक संरचनाहरु अपांगतामैत्री नभएको भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।
आयोगले शुक्रबार एक विज्ञप्ति निकाल्दै भौतिक संरचना अपांगतामैत्री नहुँदा उक्त वर्गले व्यहोरिरहेको कस्टकाबारेमा सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।
आयोगका सचिव वेद भट्टराईले निकालेको विज्ञप्तिमा ‘अपांगता भएका व्यक्तिहरुको अधिकार उपभोगको विषयमा बिहीबार अपांग समुदायबाट काठमाडौंको जोरपाटीमा भएको प्रदर्शन सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको’ उल्लेख छ ।
विज्ञप्तिमा आयोगको अनुगमन तथा अन्तरक्रियात्मक छलफलहरुसमेतबाट राजधानीलगायत देशका प्रायः सबै शहरमा पैदलयात्री तथा अपांगता भएका व्यक्तिहरुका लागि अपांगमैत्री सडक तथा फुटपाथको व्यवस्था हुन नसकेको उल्लेख छ ।