गुल्मीमा गाउँ – गाउँमा नागरिकता वितरण भएसगै स्थानीय हर्षित भएका छन । जिल्ला प्रशासन कार्यालय गुल्मीले गाउँगाउँमा नागरिकता वितरण सुरु गरेको हो । आफ्नै आगँनमा नागरिकता पाएसँगै बिकट र बिपन्न नागरिकले राज्यको अनुभुति गर्न पाएका छन् । कालीगण्डकी गाउँपालिका ६ खड्गकोटका रामबहादुर विकले गाउँमै नागरिकता पाएपछि खुसी लागेको बताउनुभयो ।
कालीगण्डकी र चन्द्रकोट गाउँपालिकामा कुल ५ सय ३७ महिला र ३ सय ३१ पुरुष गरी कुल ८ सय ६८ जनाले नागरिकता पाएका छन् भने ६ सय ४३ जनाले मतदाता परिचयपत्र लिएका छन् । बिपन्न र असाहय परिवार बढि लाभाम्बित भएको चन्द्रकोट गाउँपालिका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिनुभयो ।
राज्यको सेवा गाउँघरमै र बिपन्न एवं अशक्तहरुलाई महसुस बनाउनकै लागि शिविर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको भनाई छ ।
एकीकृत घुम्ती शिविरमार्फत जिल्ला प्रशासनले नेपाली नागरिकताको प्रमाणपत्र, निर्वाचन कार्यालयले फोटो सहितको नामवली संकलन, गुल्मी अस्पतालले स्वास्थ्य परिक्षण तथा औषधी वितरण, कृषि ज्ञानकेन्द्र मार्फत कृषिजन्य बिउबिजन लगायतका विभिन्न सेवाहरु उपलब्ध गराएको छ ।