प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल डमरु दहको विकास र संरक्षण हुन नसक्दा ओझेलमा परेको छ । अर्घाखाँची को शीतगंगा नगरपालिकाको ठाडामा रहेको उक्त पर्यटकीय स्थल ओझेलमा परेको हो । करिब ५२ रोपनी जग्गामा फैलिएको यो क्षेत्रका संरक्षण र विकास गर्न कसैले चासो नदिएका कारण स्थानीय निराश भएका छन् ।
गोरसिङ्गे सन्धिखर्क सडक खण्डको ३८ किलोमिटर दूरीमा पर्ने यस डमरु दहले विशेष महत्त्व बोकेको छ। धार्मिक स्थल डमरु दहमा कहिलेकाहीँ रातको समयमा बराह देवताको प्रतीकको रूपमा पानी भित्र नौ ओटा आगोको ज्वाला देख्न सकिने स्थानीय बताउँछन्। नजिकै सुपा देउराली मन्दिर र बाणगंगा नदीको काखमा अवस्थित यस डमरु दहको विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुनेछ ।