गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षाका लागि खतरा रहेको स्वतन्त्र मधेस गठवन्धनलाई मूलधारमा ल्याउन सरकार सफल भएको बताउनुभएको छ । प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन भैरहवा आउनुभएका गृहमन्त्री थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले सीके राउत समूहका कार्यकर्ताले स्वतन्त्र मधेसको नारा लगाउनुलाई गृहमन्त्री अन्तिम विदाई कार्यक्रम भन्नुभएको छ । गृहमन्त्री थापाले मुलुक विखण्डन गर्ने विषयमा जनमत संग्रहको व्यवस्था संविधानमै नभएको बताउनुभयो ।
गृहमन्त्री बादलले विप्लव समूहलाई अराजक गतिविधि र हिंसा रोकेर वार्तामा आउन आग्रह समेत गर्नुभयो । सुरक्षा गोष्ठीमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री, प्रदेश ५ का प्रमुख सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता छ ।