गुल्मीको मुसिकोट नगरपालिकाले आउदो बर्षदेखी नगर प्रहरी राख्ने भएको छ । बैशाख १ गतेदेखी कार्यान्वयन हुने गरी १० जना नगरप्रहरी राख्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । नगरसभाले मुसिकोट नगरपालिकामा नगरप्रहरी ऐन २०७५ पास गर्दै नगरप्रहरी राख्ने बाटो खुला गरेको हो ।
नगरपालिकाले गरीरहेका विकास निर्माण, सामाजिक कार्य, नगरक्षेत्रको व्यवस्थापन, सडक व्यवस्थापन, अनुगमन लगायतका कार्यहरु गर्ने जिम्मा नगरप्रहरीको रहने नगरप्रमुख सोमनाथ सापकोटाले बताउनुभयो ।
राजनैतिक रुपमा शान्ती सुरक्षा कायम गर्ने जिम्मा संघीय सरकार अन्तर्गतका प्रहरी रहने र नगरक्षेत्रका कामहरु गर्ने जिम्मा नगरप्रहरीलाई दिने उद्देश्यसहित नगरप्रहरी कार्यक्रम ल्याएको नगरपालिकाको भनाइ छ । नगरपालिकाले नै तलब खुवाउने गरी प्रहरीहरु भर्ना गरीने सापकोटाले बताउनुभयो ।
यसैबीच, नगरसभाले नगरपालिकाले लगाएका कर तथा राजश्वलाई व्यवस्थित गर्नेगरी नगरपालिकाको गैरकर तथा राजश्व सम्बन्धी ऐन २०७५ पनि पास गरेको छ । नगरसभामा आर्थिक बर्ष २०७५÷०७६ को दोस्रो चौमासिकसम्मको प्रगती प्रतिवेदन पेश गरिएको थियो । त्यसैगरी चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रमको संशोधन छलफल तथा स्वीकृति पनि नगरसभाले गरेको छ ।
त्यसैगरी नगरपालिकाको न्यायिक कार्य सम्पादनको लागि मेलमिलापकर्ताको सुची अनुमोदन तथा स्वीकृत गरेको छ । नगरसभाले आउने महिना सामाजिक परीक्षण गर्ने निर्णय पनि गरेको छ ।