राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज काठमाडौंमा समापन हुने भएको छ ।
गत फागुन १५ गते ताप्लेजुङबाट सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा हिजो काठमाडौं पुगेको हो । स्वाभिमान यात्रा काठमाडौँको डिल्लीबजारबाट कलश यात्रा सहित मध्यान्न सवा १२ बजे भृकुटीमण्डपमा विशाल जनसभा गर्दै समापन हुने छ ।
हिन्दु राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे राष्ट्रिय जनमतसंग्रह, लगायतका माग राखी गत फागुन ७ गते सरकारलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागबारे जनतालाई जानकारी दिन र मागका पक्षमा जनमत सिर्जना गर्न मेची महाकाली यात्रा गरेको थियो ।
प्रत्येक सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गर्नु भएको थियो । आजको सभालाई पार्टी अध्यक्ष कमल थापासहित पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।