यस वर्षको दशैंमा प्रदर्शनमा आएको फिल्म “छक्का पञ्जा ३” पछि कुनै नेपाली फिल्मले अपेक्षाकृत व्यापार गर्न नसकिरहे पनि न फिल्म निर्माण हुन कम भएको छ न त प्रदर्शनमा आउने फिल्मको संख्यामा नै कमी आएको छ । दैनिक दुईभन्दा बढी फिल्म फ्लोरमा गइरहेका छन् भने हरेक साता दुईभन्दा बढी फिल्म प्रदर्शनमा आइरहेका छन् । तर, निर्माण र रिलिजको संख्या बढेता पनि फिल्मको व्यापार भने टिठलाग्दो छ । यस वर्ष ठूलो आशा गरिएका फिल्महरुले पनि हलमा हावा खाइरहेको अवस्थामा शुक्रवारबाट ठूलो लगानीमा बनेका तीन फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । “पुरानो बुलेट” “जानी नजानी” र “द म्यान फ्रम काठमाडौं” आफ्नो जादू देखाउन प्रदर्शनमा उत्रिएका छन् । ‘द म्यान फ्रम काठमाडौं’ लाई पहिलो नेपाली हलिउड फिल्म भनिएको छ । सम्भवतः नेपाली फिल्मको इतिहासमा उच्च लगानीमा बनेको फिल्म यो हो । यसको लगानी ५ करोडमाथि रहेको निर्माता नकिम उद्यिमले बताएका छन् । यो फिल्मले निर्माताको लगानी उठाउन घरेलु बजारमा १५ करोड ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ । विदेशी मार्केटलाई मध्यनजर गरेर निर्माण गरिएको यो फिल्म अंग्रेजी भाषामा खिचिएको भएता पनि नेपालमा भने नेपाली डब गरेर प्रदर्शन गरिएको छ । पेमा धोन्डुप निर्देशित फिल्ममा हलिउड, बलिउडदेखि नेपाली कलाकारसम्मको अभिनय छ ।
बलिउड अभिनेता गुलशन ग्रोवर, आना शर्मा, शिशिर बाङ्देल, अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायतको फिल्ममा अभिनय छ । फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । फिल्मले बिहीवार भएको प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको छ ।
भिषण राईको निर्देशनमा बनेको फिल्म ‘पुरानो बुलेट’ मा भने एक करोडको लगानी छ, जुन उठाउन फिल्मले करीब ३ करोड ग्रस कलेक्सन गर्नुपर्ने छ । फिल्ममा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडीलगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई छन् ।
यस्तै, दर्जनौं फिल्ममा सहायक निर्देशक भएर काम गरेका बसन्त अधिकारीको जानी नजानी डेब्यू निर्देशित फिल्म हो । प्रस्तुतकर्ता रोशनी केसीका अनुसार, फिल्ममा २ करोडको लगानी छ । यसले निर्माताको लगानी सुरक्षित गर्न बक्सअफिसमा ६ करोड ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ । मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको यसमा अभिनय रहेको छ । शुक्रवार प्रदर्शनमा आएका तीन फिल्मको कुल निर्माण लागत ८ करोडको आसपास छ । हरेक साता निर्माताको करोडौंको लगानी डुबिरहेको अवस्थामा शुक्रवारबाट प्रदर्शनमा आएका तीन फिल्मले निर्मातालाई बचाउलान् र डुबाउलान् ? यसै भन्न सकिने अवस्था छैन । तर, यस हप्ता तीन फिल्मले निर्माता बचाउन २४ करोड ग्रस कलेक्सन गर्नैपर्ने छ, जुन अहिलेको अवस्थामा लगभग असम्भव जस्तै हो ।