मासु उपभोगका लागि भारतबाट पशुपन्छी खसीबोका, बाख्रा, राँगाभैंसी, भेडा, बंगुर, तयारी कच्चा मासुलगायतको अवैध आयात रोक्न सरकारले कडाइ गरेको छ। सरकारले माछामा पनि रोक लगाएको छ।
भारतले प्रजननका लागि मात्रै नेपाललाई पशुपन्छी निर्यात गर्न सक्ने व्यवस्था गरेको छ। त्यहाँबाट नेपालमा आयात हुने पशुपन्छीजन्य जिउँदो पशु र तयारी कच्चा मासुको हकमा भारतले स्वच्छता, गुणस्तरीय र निरोगी रहेको क्वारेन्टाइन प्रमाणपत्र पनि उपलब्ध गराएको छैन।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा पाँच दिनदेखि पशुपन्छी आयात ठप्प छ। मन्त्रालयले स्वदेशी उत्पादनका लागि बजार व्यवस्थापन गर्न, उपभोक्तालाई स्वच्छ, स्वस्थ मासु उपभोग गराउन र मासुजन्य पशुपन्छीमा मुलुकलाई आत्मनिर्भर बनाउन नयाँ रणनीति अख्तियार गरेको बताएको छ।
सरकारले कडाइ गरेपछि पछिल्लो पाँच दिनदेखि भारतबाट मासु प्रयोजनका कुनै पनि पशुपन्छी आयात नभएको चौपाया खरिदबिक्री सेवा केन्द्रका पूर्वअध्यक्ष दीपक थापाले बताए। भारतबाट कुनै पनि पशुपन्छी आएका छैनन्। हामीले अहिले स्वदेशमै उत्पादित खसीबोका ल्याएर बेच्दै आएका छौं’, उनले भने।
सरकारले ढिलै भए पनि स्वदेशी उत्पादनको हकमा उदाहरणीय काम गरेको छ। तर सरकारको नयाँ रणनीतिसँगै व्यवसायीले बजारमा मासुजन्य पशुपन्छीको कृत्रिम अभाव सिर्जना गरेका छन्। र मासुको मनलाग्दी मूल्य तोक्न थालेका छन्।
संघीय संसद्मा सांसदले भारतबाट आउने मासुजन्य पशुपन्छीको गुणस्तरमाथि प्रश्न उठाएपछि कृषि विकास तथा पशुपन्छी मन्त्रालयले पशु स्वास्थ्य तथा सेवा ऐन, मासु जाँच ऐन, पशुपन्छी ढुवानी ऐनलगायतलाई एकीकृत रूपमा कडाइसाथ कार्यान्वयनमा ल्याएको हो।
भारतबाट वार्षिक सवा चार अर्ब रुपैयाँको जिउँदो पशु, १८ करोडको तयारी कच्चा मासु र एक अर्ब ८३ करोड रुपैयाँबराबरको माछा आउँथ्यो। अब त्यो रकम पनि नेपालमै रहने मन्त्रालयको विश्वास छ। चालू आवको पुस मसान्तसम्म मात्रै भारतबाट दुई लाख ६६ हजार रुपैयाँबराबरको संख्यामा खसीबोका आयात भएको छ।
कृषिमन्त्री चक्रपाणि खनालले हालै भारतीय कृषिमन्त्री राधामोहन सिंहसँग भारतले नेपाललाई मासु उपभोगका लागि पशुपन्छी निर्यात गर्ने कुनै सुविधा नदिएको टेलिफोनमा जानकारी गराएका थिए। यसअघि दुवै मुलुकका सहसचिवबीच छलफल हुँदा पनि यो विषयमा चर्चा भएको थियो। मन्त्री खनालले शुक्रबार संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको छलफलमा भारतीय कृषिमन्त्रीले आफूलाई नेपालमा मासुजन्य प्रयोजनका लागि निर्यात हुने पशुपन्छी कानुनी प्रक्रिया पूरा नगरी अवैध रूपमा आफूखुसी गइरहेको जानकारी गराएको बताएका थिए।
अहिलेसम्म जेजति परिमाणमा भारतबाट नेपालमा मासुजन्य पशुपन्छी आयात भइरहेका थिए, ती सबै माफिया र बिचौलियाको मिलोमतोमा भइरहेका थिए।आयातमा कडाइ गरेपछि अहिले यस्ता समूह विभिन्न शक्ति केन्द्रमा दबाब दिन पुगेका छन्।
विशेषगरी कपिलवस्तु, नेपालगन्ज, भैरहवा र वीरगन्ज नाकाबाट संगठित रूपमा पशुपन्छी आयात हुँदै आएको थियो। यसरी आयात हुने मासुजन्य पशुपन्छीमध्ये झन्डै ८० प्रतिशत राजधानीमा उपभोग हुन्थ्यो। नेपालमा वार्षिक करिब ४६ लाख गोटा खसीबोकाको माग छ। यसमध्ये करिब ३९ देखि ४० लाख नेपालमै उत्पादन हुन्छ। अपुग ६ लाख भारतबाट आउँछ।